झापा । प्राकृतिक रबरको चोपलाई प्रशोधन गरी विभिन्न सामान उत्पादन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–११ मा रबर उद्योग स्थापना गरिएको छ । उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी छाएको छ ।
धाइजन पशुपालन तथा व्यावसायिक कृषि फार्मले सो उद्योग स्थापना गरेको हो । उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले आर्थिक वर्ष २०७८/०७९ मा ४० लाख अनुदान प्रदान गरेको छ । सो अनुदानले उद्योगको मुख्य मेसिन खरिद गरिएको छ ।
परियोजनाले सो कृषि फार्मलाई उद्योगको मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानअन्तर्गत २७ लाख २५ हजार रूपैयाँ र घर निर्माणका लागि ८५ प्रतिशत अनुदानअन्तर्गत १२ लाख ७५ हजार रूपैयाँ प्रदान गरेको छ ।
कार्यालयका सूचना अधिकारी रवीन्द्र निरौलाले रबर उद्योगबाट गुणस्तीय गम, ग्लोब, बेलुन आदि बनाउन सहयोग पुग्ने जानकारी दिए । उनले उद्योगमा करिब सातजना स्थानीयवासीलाई नौ महिनासम्म रोजगारीसमेत प्रदान गर्न सकिने विश्वास व्यक्त गरे ।
उनले आर्थिक वर्ष २०७८/०७९ मा रबर खेती गर्ने साना किसानलाई सहयोग पु¥याउने उद्देश्यले परियोजनाले साना किसान प्राकृतिक रबर उत्पादक संघलाई रबर चोप सङ्कलन गर्ने सामग्री खरिदका लागि २० लाख रुपैयाँ र रबर डस्टिङ मेसिन खरिदका लागि पाँच लाख गरी २५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।
जिल्लामा आव २०७५/०७६ बाट रबर जोन सञ्चालनमा आएसँगै रबर किसानलाई प्रोत्साहन र खेती प्रवद्र्धन गर्नका लागि विभिन्न उपकरण खरिद र नर्सरी स्थापनाका लागि अनुदान प्रदान गरिँदै आएको छ । चार वर्षमा परियोजनाले रबर जोनका लागि मात्र दुई करोड ११ लाख ५० हजार रुपैयाँ विनियोजन भएको रकममध्ये एक करोड ५७ लाख १७ हजार ८ सय १० रुपैयाँ अनुदान प्रदान गरिसकेको छ । जसमध्ये रबर स्मोक हाउस निर्माणमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशतले अनुदान प्रदान गरिएको छ ।
झापामा करिब ५०० हेक्टर क्षेत्रमा रबर खेती हुँदै आएको छ । सामुदायिक वन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दसौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको सङ्ख्या झापामा थुप्रै रहेको छ । किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रतिबिघा चार लाख रुपैयाँसम्म बर्सेनी आम्दानी गर्दै आएका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ ।
यसअघि कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर उद्योग सञ्चालनमा आएको छ । तीन हप्तादेखि परीक्षणका रूपमा सञ्चालन गरिएको उद्योगलाई चाँडै व्यावसायिकरूपमा लैजाने उद्देश्य रहेको सञ्चालक बालकृष्ण सापकोटाले बताए । काठमाडौं र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर उद्योग स्थापना गरेका हुन् ।
किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सोलुसन ९टाँस्ने पदार्थ० र रबर सोल उत्पादन गरिने सञ्चालक सापकोटाको भनाइ छ । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सोलुसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो कच्चा पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।