काठमाडौं । बोहरा ग्रुपको एभरेस्ट सोल्भेन्ट प्राइभेट लिमिटेडले खाद्य तेल बेचेरै ९ महिनामै साढे २ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
भारतमा निर्यात ७० प्रतिशतले बढेपछि उद्योगले ९ महिनामै सो रकम व्यापार गरेको हो । अविनाश बोहराको बहुमत स्वामित्वमा रहेको एभरेस्ट सोल्भेन्टले सन् २०२१ मा १ अर्ब ६२ करोड ९० लाख रुपैयाँको खाद्य तेल बेचेको थियो ।
सन् २०२० मा १ अर्ब १० करोड र सन् २०१९ ५७ करोड ८० लाख र सन् २०१८ मा ४२ करोड ९० लाख रुपैयाँको खाद्य तेलको व्यापार गरेको थियो । उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको व्यापार बढ्दै गएको छ ।
सन् १९८४ मा एभरेस्ट सोल्भेन्टले च्वाइस ब्रान्डको सूर्यमुखी तेल, सोयाबिन तेल, राइस ब्रान आयल र पाम आयलको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उद्योगसँग वार्षिक ७२ हजार टन खाद्य तेल उत्पादन गर्ने क्षमता छ । यो वर्ष २४ हजार टन उत्पादन क्षमता बढाएको कम्पनीले जनाएको छ ।
उद्योग सुनसरीको खनारमा रहेको छ । उद्योगमा विभिन्न ७ व्यक्तिको लगानी रहेको छ । जसमध्ये अविनास वोहराको ४५ प्रतिशत हिस्सा रहेको छ ।
एभरेस्टले २ अर्ब ४८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले सो ऋणलाई इक्रा एनपी ए फोर रेटिङ दिएको छ ।
ग्रुप सन् १९८४ देखि नै एग्रो बिजनेसमा संलग्न रहेको छ । उद्योगले अर्जेन्टिना, ब्राजिल, युक्रेन र रुसबाट कच्चा वस्तु आयात गर्दै आएको छ ।