काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले बढी बिड गर्नेलाई पन्छाएर कम टेन्डर बिड गर्ने कम्पनीलाई भैरहवाको इनल्यान्ड कन्टेनर डिपो (आईसीडी) सञ्चालनका लागि छनोट गरेको पाइएको छ ।
विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नियोजित रुपमा बढी टेन्डर बिड गर्नेलाई फ्याँकेर कम बिड गर्नेलाई आईसीडी सञ्चालनको जिम्मा दिन खोजेका हुन् ।
समितिले ३० मार्च २०२२ मा भैरहवा आईसीडी सञ्चालन तथा व्यवस्थापनका लागि टेन्डर आह्वान गरेको थियो । त्यसमा हाइवे–एटलस ईएफसी जेभी, एम/एस भ्याली टर्मिनल्स जेभीसहित एक अर्को कम्पनीले समेत टेन्डरमा भाग लिएका थिए ।
हाइवे–एटलस ईएफसी जेभीले ६८ करोड ८८ लाख ८८ हजार ८०० रुपैयाँमा बिड गरेको थियो भने एम/एस भ्याली टर्मिनल्स जेभी काठमाडौंले ६८ करोड ४ लाख रुपैयाँमा बिड गरेको भएपछि कार्यकारी निर्देशक गजुरेलले प्राविधिक मूल्यांकन बढी देखाएर एम/एस भ्याली टर्मिनल्सलाई ठेक्का दिन खोजेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उजुरीसमेत परेको छ ।
गजुरेलले आर्थिक प्रलोभनमा परेर टेन्डरमा कम मूल्य प्रस्ताव गर्नेलाई ठेक्का दिन खोजेको आरोप हाइवे–एटलस ईएफसी जेभीले लगाएको छ ।
तर, कार्यकारी निर्देशक गजुरेलले प्राविधिक ६० प्रतिशत र फाइनान्सियल ४० प्रतिशत भएको र एम÷एस भ्याली टर्मिनल्स जेभी टेक्निकलमा बढी नम्बर पाएकाले उसलाई दिएको बताए ।
‘टेक्निकल र फाइनान्सियल मिलाएर जित्ने हो,’ उनले भने, ‘पैसा धेरै हाल्नेबित्तिकै जित्ने भन्ने हुँदैन । ठेक्का प्रणालीमा जस्तो लोएस्ट हाल्ने पाउने भन्ने हुँदैन ।’
टेक्निकल र फाइनान्सियल जोड्दा हाइवे–एटलस ईएफसी जेभी कम भएका कारण उसले नपाएको गजुरेलले क्यापिटल नेपाललाई जानकारी दिए । ‘पैसा हाइवे–एटलस ईएफसी जेभीले बढी प्रस्ताव गरेको पनि हो,’ उनले भने, ‘तर, टेक्निकलमा कम भएकाले नपाएको हो । मूल्यांकन कमिटीमा म पनि हुदिनँ ।’
गजुरेलले कम्पनी छनोट भएपछि सञ्चालक समितिलाई जानकारी दिने प्रक्रिया रहेको बताउँदै एम÷एस भ्याली टर्मिनल्स जेभीलाई एलोआई मात्रै दिएको तर छनोट भइनसकेको जानकारी दिए ।
इन्टरमोडलले पाँच वर्षका लागि टेन्डर आह्वान गरेको थियो ।
समितिले २०७९ असार ३१ गते एम/एस भ्याली टर्मिनल्स जेभीको प्रस्ताव स्वीकृत गर्ने सूचना प्रकाशित गरेको थियो ।
प्रस्ताव छनौट कम बिड गर्ने कम्पनीले पेस गरेको फर्जी डकुमेन्टलाई सदर गरेको पाइएको हो । कार्यकारी निर्देश गजुरेलले फर्जी डकुमेन्टलाई आधार मानेर एम/एस भ्याली टर्मिनल्स जेभीको शून्य दशमलव ९० अंक बढी दिएर छनोट गराएका थिए । बढी बिड गर्ने हाइवेले ५२.५२ अंक प्राप्त गरेको छ भने कम बिड गर्ने भ्यालीले ५३.१९ अंक प्राप्त गरेको देखिएको छ ।
समितिले बदनियतका साथ बढी बिड गर्नेको प्राविधिक स्कोर कम देखाएर एम/एस भ्याली टर्मिनल्स जेभीको प्राविधिक स्कोर बढी देखाइएको मन्त्रालयमा उजुरी परेको हो, जुन सरासर गलत र त्रुटिपूर्ण छ ।
‘प्राविधिक स्कोरको मूल्यांकन गर्दा नेपाल इन्टरमोडल यातायात विकास समिति, टर्मिनल पट्टा बहालमा दिनेसम्बन्धी नियमावली, २०७० को परिच्छेद (४) नियम ३४ मा प्रस्तावकको छनौटको व्यवस्था गरेको, जसमा कार्यकारी निर्देशकले प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्यांकन प्रतिवेदनबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावकलाई पट्टा बहालमा दिन छनौट गर्नेछन् । त्यस्तो प्रस्तावक छनौटको संक्षिप्त विवरणसहितको जानकारी समितिलाई दिनुपर्नेछ भन्ने व्यवस्था देखिन्छ’ मन्त्रालयमा हालेको उजुरीमा उल्लेख छ ।
एम/एस भ्याली टर्मिनल्स जेभीसँग प्रस्ताव पेस गर्न कानुनबमोजिम योग्य भएको पुष्टि गर्ने कागजातहरुको अभाव रहँदारहँदै त्यसैलाई बढी अंक दिएर गजुरेलले ठेक्का दिने प्रपञ्च गरेको आरोप लगाइएको छ ।
एम/एस भ्याली टर्मिनल्स जेभीले पेस गरेको कागजात फर्जी रहेको तथ्यलाई समेत नजरअन्दाज गर्नुले गजुरेलले उक्त कम्पनीसँग साँठगाँठ गरेर ठेक्का दिएको देखिएको छ ।
‘भ्रष्ट र जालसाजीको अभ्यास गरेको देखिन्छ । गलत लाभ लिने नियतले जालसाजीपूर्ण तरिकाबाट उल्लेख गरिएको विवरणले प्राप्त गरेको उच्चतम प्राविधिक स्कोर कुनै हालतमा मान्य हुन सक्दैन,’ मन्त्रालयमा परेको उजुरीमा उल्लेख छ ।