काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।
साथै उनले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिएका छन् ।
नयाँ बन्दै गरेको संघीय संसद् भवनमा बानेश्वरभन्दा के के सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञासामा आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरु, संसद् सचिवालय, विकास समिति, संग्रहालय, पुस्तकालय, प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, भीभीआईपी भवन, आरामदायी लबी, वातानुकुलित कक्ष रहने छन् ।’
भवनमा करिब ३५० गाडी अट्ने अन्डरग्राउन्ड पार्किङ र त्यति नै संख्यामा भवनबाहिर पार्किङको व्यवस्था, फोहरासहितको आकर्षक बगैंचा, आधुनिक सुरक्षा व्यवस्था, आगलागी नियन्त्रण, भूकम्प प्रतिरोधी, सिभेज ट्रिटमेन्ट प्लान्ट, १२ लाख लिटर क्षमताको अन्डरग्राउन्ड पानीट्यांकी लगायतका थुप्रै सुविधा हुनेछन् ।
लागत खर्च, समय अवधि र कार्यप्रगतिबारे मन्त्री चौधरीको जिज्ञासामा ठेकेदार कम्पनीका प्रतिनिधि काशीनाथ डोटेलले कोभिडका कारण सामग्री अभाव, एलसी खोल्न शतप्रतिशत मार्जिनको सरकारको नयाँ प्रावधान, अनियन्त्रित मूल्यवृद्धि आदिले काममा ढिलाइ भएको बताए ।
२०७६ साल असोजबाट सुरु भएको भवन निर्माणको कुल लागत खर्च ५ अर्ब २ करोड रहेको छ । ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि कोभिडका कारण ६ महिना थप गरिएको हुँदा ०७९ चैत्रसम्म सकिनुपर्ने समयसीमा छ । आयोजना सुरु भएको ३ वर्ष पुग्नै लाग्दा हालसम्म जम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको कम्पनीले बताएको छ ।
मन्त्रालयका सचिव डा. रमेश सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाल, उपमहानिर्देशक दिलिप भण्डारी, चक्रवर्ती कण्ड र सचिवालयको टिमसहित भवन निर्माण स्थल पुगेका मन्त्रीले यति लामो अवधिसम्म पनि जम्मा ४५ प्रतिशत मात्र काम भएकामा असन्तुष्टि व्यक्त गर्दै समयसीमाभित्रै तदारुकताका साथ काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।