काठमाडौं । सि–आस्बामार्फत मोटो शुल्क असुल्दै आएका बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का लाग्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डको आन्तरिक रूपमा गठन गरेको अध्ययन समितिले ब्रोकर कमिसन र सि-आस्बा शुल्क घटाउन निष्कर्ष निकालेपछि मोटो शुल्क असुल्दै आएका बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का लाग्ने देखिएको हो ।
अध्ययन समितिले ब्रोकर कम्पनीले लिँदै आएको कमिसन र सि–आस्बा सेवा प्रदान गर्ने कम्पनीले सेवा बापतको शुल्क बढी भएको निष्कर्ष निकालेको बोर्डका एक अधिकारीले बताए ।
उनका अनुसार अध्ययन समितिले आस्बा शुल्क र ब्रोकर कमिसन घटाउनुपर्ने निष्कर्षसहितको डाफ्ड बोर्डमा पेस गरेको छ । ‘अहिले अध्ययन समितिले बोर्डमा डाफ्ट पेस गरेको छ,’ उनले भने अबको एक/दुई दिनमा अध्ययन समितिले बोर्डमा प्रतिवेदन पेस गर्नेछ ।’
उनले प्रतिवेदन बोर्डबाट पासभएपछि ब्रोकर कमिसन र सि–आस्बा शुल्क घटाइने बताए ।
हाल सि–आस्बा प्रदान गर्दै आएका २७ वाणिज्य बैंकमध्येका नबिल, एनआईसी एसिया र वाणिज्य बैंक सि–आस्बा बापतको शुल्क लिने गरेका छैनन् । अन्य २४ वाणिज्य बैंकले आस्बा शुल्कबापत मोटो रकम असुल्दै आएका छन् ।
स्टान्डर्ड चार्टर्ड बैंकले त एक कम्पनीको प्राथमिक निष्कासन ‘आईपीओ’ भरेबापत १ सय रुपैयाँ शुल्क लिन्छ । त्यस्तै अधिकांश बैंकले २० रुपैयाँदेखि २५ रुपैयाँ लिन्छन् भने केही बैंकहरुले १० रुपैयाँदेखि १५ रुपैयाँ शुल्क लिँदै आइरहेका छन् ।
एकातिर आईपीओ नपर्ने र अर्कोतिर बैंकहरुले लिने शुल्क चर्को हुन थालेपछि लगानीकर्ताले आईपीओसमेत भर्न छोडेका छन् । करिब ३/४ महिनाअघि २६ लाखसम्मले आईपीओ भर्ने गरेका थिए । अहिले निष्कासन भइरहेको आईपीओमा करिब १५ लाख आवेदकले मात्र आईपीओ भर्न थालेका छन् ।
टीएमएसमार्फत कारोबार गर्दा कति लाग्छ शुल्क ?
सेयरबजारमा सेयर खरिदबिक्री कार्यलाई नै सेयर कारोबार भनिन्छ । यसो गर्दा केही शुल्क तिर्नुपर्छ । लगानीकर्ताले ५० हजारसम्मको सेयर कारोबार (खरिदबिक्री) गर्दा ०.३७ प्रतिशत शुल्क बुझाउनुपर्छ ।
५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म ०.३४, २० लाखदेखि १ करोडसम्म ०।३० प्रतिशत र १ करोडमाथिको कारोबारका लागि ०.२७ प्रतिशत शुल्क लाग्छ । सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ ।