काठमाडौं । सुनकोसी–मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने समय फेरि सरेको छ । यसअघि पहिलोपटक असारमा र दोस्रोपटक साउनबाट टनेल बोरिङ मेसिन (टीबीएम) ले सुरुङ खन्ने आयोजनाले जनाएको थियो ।
तर, टीबीएम मेसिनका लागि आवश्यक सामग्री विदेशबाट ल्याउन र जडान गर्न समय लागेको भन्दै सुरुङ खन्ने मिति तेस्रोपटक असोजमा तय भएको हो ।
सुरुङ खन्न भएको ढिलाइले आयोजना पछि धकेलिएको छ । १३ किलोमिटर लामो सुरुङमार्ग बनाएर सुनकोसीको पानी सिन्धुलीको मरिण खोलामा निकाल्ने योजना छ । टीबीएम मेसिन जडानका लागि ५० मिटर सुरुङ खनिसकेका छन् । बाँकी टीबीएम मेसिनको प्रयोगले खन्ने तयारी निर्माण कम्पनीले गरेको छ ।
आयोजनाले चाइना ओभरसिज एन्ड इन्जियिरिङ कम्पनी (कोभेक) सँग १३ किलोमिटर लामो सुरुङ खन्न १० अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । बाँध, सिँचाइ र विद्युत् उत्पादनको संरचनासमेत गरी आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ । जसमध्ये सुरुङ निर्माणका लागि मात्रै १० अर्ब रुपैयाँ लाग्ने छ । आयोजनाको सबै संरचना आर्थिक वर्ष ०८०/०८१ मा सम्पन्न गर्ने लक्ष्य छ ।
२०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गरेका थिए । आयोजनाको भौतिक प्रगति २०७९ असार मसान्तसम्म ७.६ प्रतिशत भएको आयोजनाका सूचना अधिकारी रवि शाक्यले बताए । उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा २ अर्ब रुपैयाँ खर्च भएको छ । त्यस्तै आर्थिक वर्ष ०७९/०८० का लागि २ अर्ब ७१ करोड रुपैयाँ बजेट प्राप्त भएको शाक्य बताउँछन् ।
यद्यपि उक्त २ अर्ब ७१ करोड रुपैयाँ बजेटले १ वर्षको काम गर्न नपुग्ने उनको भनाइ छ । ‘३० देखि ३५ करोड रुपैयाँ थप बजेट माग गर्नुपर्छ, मुआब्जा र सुरुङका लागि बजेट अभाव नै हुन्छ,’ उनले भने ।
बीपी राजमार्गमा असर
सुनकोसी–मरिण डाइभर्सनका निर्माणकार्य सम्पन्न भएपछि बीपी राजमार्गको १ किलोमिटर सडक सर्ने भएको छ । सिन्धुलीको खुर्कोट नजिकको १ किलोमिटर सडकमा डाईभर्सनले असर गर्ने भएपछि सडक हाल सञ्चालनमा रहेको स्थानभन्दा माथिबाट सञ्चालन हुने सूचना अधिकारी शाक्य बताउँछन् ।
तर, आयोजनाको निर्माण भइरहँदा ३ किलोमिटर बाटो घुम्नुपर्ने हुन्छ । यद्यपि डाइभर्सनको काम सम्पन्न भएपछि अहिले सञ्चालन भएको भन्दा १ किलोमिटर मात्रै लम्बिनेछ ।
‘डाइभर्सनको निर्माण अवधिभरि ३ किलोमिटर बाटो घुम्छ । किनकि हामीलाई काम गर्न अप्ठ्यारो हुन्छ । तर, सधैंका लागि करिब १ किलोमिटर बाटो मात्रै माथिबाट बन्छ अरु केही फरक हुँदैन,’ उनले भने ।
त्यस्तै सुनकोसीमा नै निर्माण हुन लागेका २ वटा जलविद्युत् आयोजना पनि डाइभर्सनको नजिकै रहने छन् । सुनकोसी ३ जलविद्युत् आयोजना नेपालथोकमाथि निर्माण हुनेछ, जसले मरिण डाइभर्सनलाई कुनै क्षति नगर्ने शाक्यको भनाइ छ ।
तर, सुनकोसी २ जलविद्युत् आयोजना मरिण डाइभर्सनभन्दा करिब २७ किलोमिटर पूर्वतर्फ गोलन्जोर गाउँपालिका १ मा निर्माण हुनेछ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका सूचना अधिकारी शाक्यका अनुसार सुनकोसी २ जलविद्युत् आयोजनाको असर भने केही मात्रामा पर्न सक्छ । यद्यपि सो आयोजनापहिले डाइभर्सनको निर्माण सम्पन्न हुने भएकाले धेरै असर हुन पाउँदैन ।
शाक्यले भने, ‘हामीलाई चाहिने पानी हो, निर्माण गर्न भ्यायौं भने टावर इन्टेक बनाएर जति पानी चाहिन्छ त्यति नै पठाउँछौं । डाइभर्सन निर्माण सम्पन्न गर्न पाएनौं भने जलविद्युतका लागि जमेको पानीले असर गर्छ । तर, सुनकोसी–२ जलविद्युत् बन्न धेरै समय लाग्छ । त्यो अवधिभित्र हाम्रो काम सम्पन्न हुन्छ ।’
आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसीको संगमस्थलबाट ९०० मिटर तल (सिन्धुलीको खुर्कोटतर्फ) १२ मिटर उचाइको बाँध बनाई निर्माण हुँदैछ । सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नम्बर २ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ ।
यस्तै ६६ मिटरको हेडेडबाट ३१ मेगावाट विद्युत् उत्पादन गर्ने पनि तयारी छ । सिन्धुली र रामेछापमा निर्माण हुने आयोजनाले बागमती प्रदेश र मधेस प्रदेशलाई जोड्नेछ । सो आयोजना निर्माण हुने १३ किलोमिटर लामो सुरुङको चौडाइ ५.५ मिटर हुने बताइएको छ ।
सो आयोजनाले मात्रै तराईको थप ७७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने छ । पहिला पनि बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको छ ।
बागमती सिँचाइ र सुकोसी मरिण डाइभर्सन गरी २ वटा आयोजनाबाट बारा, रौटहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य रहेको छ ।