काठमाडौं । नेपालमा अमेरिकी डलर, बेलायती पाउन्ड र युरोभन्दा पनि महँगो अर्कै मुद्रा पनि छ । त्यो हो कुबेतको दिनार हो । नेपाल राष्ट्र बैंकले कुबेती दिनारको बिक्रीदर ४१६.६७ रुपैयाँ तोकेको छ । यसपछिको सबैभन्दा महँगो मुद्रा बहराइनको दिनार रहेको छ ।
बहराइन दिनारको बिक्रीदर ३४०.२४ रुपैयाँ छ । नेपालमा मात्रै नभएर दिनार विश्व बजारमै महँगो मुद्राका रूपमा स्थापित भएको छ । तेल उत्पादन मुलुक कुबेत खाडीमुलुक रहेको छ । क्षेत्रफलका हिसावले कुबेत नेपालभन्दा धेरै सानो छ ।
आर्थिक वृद्धि र प्रतिव्यक्ति आयाको हिसावमा कुबेतसँग नेपालको तुलना नै हुन सक्दैन । मंगलबारका लागि राष्ट्र बैंकले १ डलर बराबर २२८.२६ रुपैयाँ बिक्रीदर तोकेको छ । यस्तै युरो १३०.२१ र पाउन्ड १५३.६० रुपैयाँ बिक्रीदर तोकिएको छ ।
कुनै पनि मुद्राको सामर्थ्य आधारभूत रूपमा एउटै मात्र तत्वले निर्देश गर्छ । जसलाई क्रयशक्ति (पीपीपी) भनिन्छ । यसको साइनो मुद्रास्फीति अर्थात् बजार महँगीसँग रहेको हुन्छ । कुनै पनि मुद्राको विनिमय दर निर्धारण गर्ने आधार त्यो मुद्राको खरिद गर्ने शक्ति बराबर हुन्छ । त्यसलाई सोझो हिसाबले भन्दा १ दिनारको ४ डलर पर्छ भन्नुको अर्थ कुवेतमा १ दिनारमा कुनै वस्तु पाइन्छ भने अमेरिकामा त्यसको लागत ४ डलर पर्छ भन्ने हो ।
दक्षिण कोरिया नेपालभन्दा धेरै विकसित छ । तर, सटही दर त्यति बलियो छैन। कुनै पनि मुद्रा बलियो हुनमा उक्त मुलुकको ब्याजदर र बजार महँगीको प्रभावमा आधारित रहने बताइन्छ । अर्जेन्टिनाको पेसो र टर्कीको लिरा धेरै कमजोर भएका छन् । ती मुद्रा कमजोर हुनुको कारण उच्च मुद्रास्फीति रहेको बताइएको छ । उच्च मुद्रास्फीतिले मुद्रालाई कमजोर बनाउँदै लैजान्छ ।
नेपाली रुपैयाँको दर निर्धारण भारतीय रुपैयाँ (भारु) का आधारमा हुने गर्छ । नेपाल रुपैयाँको भारुसँग स्थिर विनिमयदर (फिक्सड पेग) छ । भारु बलियो हुँदा नेरु पनि हुन्छ, कमजोर हुँदा यसको असर नेरुमा पनि पर्छ । भारतमै कुवेती दिनार बलियो भएकाले नेपालमा यसको असर देखिएको हो ।
विश्वमा अमेरिकी डलरसँगको विनिमय दरमा आधारित भएर अन्य मुद्राको भाउ निर्धारित गरिन्छ । नेपालका लागि दिनार आर्जन गर्ने एउटा स्रोत निर्यात हो । तर, निर्यातको आकार भने ठूलो छैन। नेपालले आवश्यकता परेको बेला मात्रै कुवेतको मुद्रा खरिद गरेर आफ्नो आवश्यकता पूरा गर्दै आएको छ ।
पछिल्ला वर्षहरूमा कुवेतमा काम गर्ने श्रमिकहरूको संख्या पनि बढ्न थालेसँगै नेपालको आउने विदेशी मुद्राको अनुपात पनि बढिरहेको छ । कुवेतबाट मासिक ३ करोड अमेरिकी डलर रेमिट्यान्सका रूपमा नेपाल भित्रिन्छ ।