काठमाडौं । नेपाल/तिब्बत व्यापार सहजीकरण समितिको दशौ भर्चुअल बैठक सम्पन्न भएको छ । समितिको सम्झौताअनुसार बैठक बसेको हो ।
बैठकमा दुई पक्षीय व्यापारमा सहजीकरण, वैदेशिक लगानी, व्यापार पूर्वाधारको विकास, पारवहन सुविधाका साथै भन्सार प्रकृयामा सरलीकरण लगायतका विषयमा छलफल भएको थियो । छलफलमा स्थलगत मार्गबाट नेपालबाट निकासी हुने मालवस्तुको ढुवानी प्रकृयालाई छिटाे सुरु गर्ने विषयका साथै नेपाली वस्तुहरुको चिनियाँ बजारमा सहज प्रवेशकाबारे छलफल भएको थियो ।
छलफलमा नेपाल/चीनबीच निर्वाध रूपमा दुईतर्फी व्यापार गर्न उपयुक्त विधि अवलम्बन सुरू गर्ने विषयमासमेत छलफल भएको थियो। पारवाहनप्रोटोकल कार्यान्वयन, अन्तरदेशीय विषेश आर्थिक क्षेत्र स्थापना, आधिकारिक आर्थिक सञ्चालक (ए.ई.ओ) को व्यवस्था, भुक्तानी सहजीकरण, बहुकार्यात्मक प्रयोगशाला स्थापना लगायतका विषयहरुमासमेत गहन छलफल भएको थियो ।
यस्तै, चीन सरकारको सहयोगमा निर्माण भईरहेको रसुवाको टिमुरेमा रहेको सुक्खा वन्दरगाहलाई यथाशीघ्र सम्पन्न गर्ने कार्य अगाडी बढाउनुका साथै कोरोला, किमाथान्का र ओलाङ्गचुङ्गगोला लगायतका सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको छ ।
छलफलमा नेपाल -चीनबीच निर्वाधरूपमा दुईतर्फी व्यापार सञ्चालन गर्न उपयुक्त विधि अवलम्बन गर्ने, भन्सार नाकाहरुमा कोभिड विरूद्धको स्वास्थ प्रोटोकल कडाईका साथ पालना गर्ने र कृषिजन्य, पशुजन्य र वनस्पतिजन्य उत्पादनहरू चीनतर्फ निकासी गर्नको लागि आवश्यक प्रकृयागत विषय र प्राविधिक क्षमता अभिवृद्धि गर्न दुवै देशले सहकार्य र समन्वय गर्ने समेत सहमति भएको छ।
नेपाल/चीनको तिब्बतबीच द्विपक्षीय व्यापार सहजीकरण गर्ने उद्देश्यले २०१० अप्रिलमा समझदारी पत्रमा हस्ताक्षर भई नेपाल/तिब्बत व्यापार सहजीकरण समितिको स्थापना भएको थियो।
सो सम्झौतामा भएको व्यवस्थाअनुसार उक्त समितिको दशौ बैठक आज भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त वार्तामा नेपाल पक्षको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीले गरेका थिए भने चीनको तिब्वत पक्षको नेतृत्व चीनको तिब्बत सरकारका उपमहासचिव, श्री रेन सिनपिङ्गले गरेका थिए ।
उक्त वार्तामा दुबै पक्षका वार्ता टोली नेताले नेपाल र चीनबीच रहेको ऐतिहासिक तथा सौहार्द पूर्ण दौत्य सम्बन्ध रहेको उल्लेख गर्दै दुबै देशबीच बढ्दो दुई पक्षीय व्यापारका माध्यमबाटसमेत दुई देशको सम्बन्धलाई थप प्रगाढ गर्न सकिने विचार व्यक्त गरेका थिए ।