काठमाडौं । एक आपसमा गाभिने (मर्ज) समझदारीपत्र (एमओयू) गरेका विभिन्न ३१ कम्पनीहरुको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार रोक्का भएको छ ।
हालसम्म नेप्सेमा ६ वाणिज्य बैंक, ५ माइक्रोफाइनान्स, १ फाइनान्स कम्पनी, दुई जलविद्युत र १७ बिमा कम्पनीको कारोबार रोक्का गरिएको हो । कारोबार रोक्का गरिएका ३१ वटा कम्पनीमध्ये ४ कम्पनीको प्राप्ति (एक्वायर) र बाँकी २७ कम्पनी एक आपसमा मर्जको लागि समझौता गरेका छन् ।
नेप्सेमा मर्जमा जान समझौता गरेका २७ कम्पनी र प्राप्ति हुन् लागेका ४ कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।
नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली २०७३ मा मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका कम्पनीहरुको सेयर रोक्का राख्ने व्यवस्था छ । मर्जरमा जान लागेका बिमा कम्पनीका साथै जलविद्युत कम्पनीहरुले कारोबार रोक्का गर्न पत्राचार गरेकाले नेप्सेले कारोबार रोक्का गर्दै आएको छ ।
विकास साझेदार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले वाणिज्य बैंकको संख्या धेरै भएको भन्दै १५ मा झार्न राष्ट्र बैंकलाई सुझाएका थिए । राष्ट्र बैंकले पनि बैंकको संख्या घटाउन मर्जमा जान दबाब दिइरहेको छ ।
राष्ट्र बैंकको दबाबपश्चात आधा दर्जन वाणिज्य बैंक एक आपसमा गाभ्ने/गाभिने (मर्ज) सम्बन्धी समझदारी (एमओयू) गरेका छन् ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गभर्नर अधिकारीले तोकिएको अवधिभित्र मर्जमा गए अहिले घोषणा गरिएको सुविधा उपलब्ध हुने जानकारी गराइसकेका छन् ।
नयाँ मौद्रिक नीति आएपछि भने त्यो सुविधा प्राप्त नहुने गभर्नरले स्पष्ट पारेकाले वाणिज्य बैंकहरु मर्जमा जान एमओयू गरेका हुन । थप सुविधा लिनका लागि पनि बैंकहरु अहिले मर्जमा जान हतारिएका हुन् ।
गभर्नर अधिकारीको यो नीतिले अधिकांश बैंकहरुलाई मर्जरमा जान जोड दिएको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ । मर्जमा नजाने बैंकलाई पाउँदै आइरहेको सुविधा नदिने कुराले बैंकहरुलाई मर्जमा जान जोड दिएको स्पष्ट देखिन्छ ।
हाल नेप्समा सिभिल बैंक, बैंक आफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, मेगा बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको कारोबार रोक्का भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबि)लाई प्राप्ति गरेर एकीकृत कारोबार समेत सुरु गरेको छ ।
नबिलले एनबीलाई प्राप्ति गरेपश्चात हाल नेप्सेमा एनबिको कारोबार रोक्का गरिएको छ । त्यस्तै ग्लोबल र बैंक अफ काठमाण्डू (बीओके)कोे एमओयू पश्चात नेप्सेमा कारोबार रोक्का गरिएको छ ।
मेगा बैंक र नेपाल इनभेष्टमेन्ट बैंक पनि एक आपसमा मर्जको लागि एमओयू गरेसँगै नेप्सेमा कारोबार रोक्का छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न सम्झौता गरेसँगै सिभिल बैंकको कारोबार रोक्का भएको छ ।
हाल नेप्सेमा क्यापिटल मर्चेन्ड बैंकिङ एण्ड फाइनान्सको कारोबार रोक्का छ ।
यसैगरी लघुवित्त कम्पनीहरुमा घोडीघोडा, नाडेप, समाज, सिवाईसी नेपाल र आँधिखोला लघुवित्त संस्था छन् । घोडाघोडी लघुवित्त युनिक लघुवित्तसँग मर्ज हुन लागेको हो । युनिक लघुवित्त नेप्सेमा सूचीकृत छैन् ।
जलविद्युत कम्पनीमा भने रिडी र रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का छ । बिमा समितिले पूँजी बढाउन निर्देशन दिएपछि बिमा कम्पनीहरुमा मर्जरको पक्रिया सुरु भएको हो ।
समितिले हकप्रद रोकेर मर्जरबाटै पूँजी बढाउन दबाब दिएपछि बिमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका हुन ।
बिमा समितिले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।
पूँजी बढाउन समितिले दबाब दिएपछि बिमा कम्पनीहरु एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी सम्झौता हुन थालेको हो ।
समितिले पूँजी बढाउँन निर्देशन दिएको छोटो समयमै १७ वटा बिमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका छन । जसमा ७ वटा जीवन बीमा कम्पनीहरु र १० वटा निर्जीवन बिमा कम्पनीहरु रहेका छन् ।
जीवन बिमातर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता गरेका छन् । सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले पनि मर्जरमा जाने सम्झौता गरेका छन् ।
यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको छ । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।
दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ । त्यसअनुसार दुई कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
निर्जीवन बिमातर्फ अजोड र प्रभु इन्स्योरेन्स मर्जरमा जाने सम्झौता गरेका छन् । मर्जमा जान सम्झौता गरेसँगै नेप्सेमा कारोबार रोक्का भएको छ ।
त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा पहिले मर्जरमा जाने सम्झौता गरेका थिए । यी दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पूर्ण प्रकृया सकाएर साउन १ गतेदेखि एकिकृत कारोबार सुरु भएको छ । दुई कम्पनीबीच मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । यतिबेला यी दुई कम्पनीको पनि नेप्सेमा कारोबार रोक्का छ ।
साथै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच पनि मर्जरमा जाने सम्झौता भएको छ । हाल सिद्धार्थको चुक्तापुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियरको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ ।दुई कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।
यसैगरी, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच पनि एक बराबर एकको अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ । हाल सानिमा र जनरल इन्स्योरेन्स दुबैको एक÷एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ ।एक बराबरको एकको अनुपातमा मर्ज भएपश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
यसैगरी, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले पनि मर्जरमा जाने सम्झौता गरेका छन् । यी दुई इन्स्योरेन्सबीचमा १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो ।
हाल सगरमाथाको चुक्ता पूँजी १ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यसअनुसार मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।
मर्जरमा जान सम्झौतापत्र हस्ताक्षर गरेका ७ वटा जीवन बिमा कम्पनी र १० वटा निर्जीवन बिमा गरी १७ वटै बिमा कम्पनीको सेयर कारोबार रोक्का छ । मर्जर तथा एक्वीजिशन प्रयोजनको लागि नेप्सेले १७ वटै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
मर्जमा जाने बिमा कम्पनीलाई यस्ता छन् सुविधा
मर्जमा जाने बिमा कम्पनीलाई बिमा समितिले विभिन्न छुट तथा सुविधा प्रदान गर्ने निर्णय गरेको थियो । समितिले २०७९ असार मसान्तभित्र मर्जरमा जान सम्बन्धित निकायमा आवेदन दिने कम्पनीले मात्रै छुट सुविधा पाउनेछन् ।
समितिको निर्देशनअनुसार मर्जरमा जाने बीमा कम्पनीहरुले आयकर ऐनअनुसार पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुट तथा सुविधा पाउनेछन् ।
बिमा कम्पनी गाभिए पश्चात कायम हुने नयाँ बीमा कम्पनीमा कायम रहेको सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्री भएको वा बिक्री गरेको सेयरमा पुँजीगत लाभकर नलाग्ने समितिले जनाएको छ ।
यस्तै, बीमा कम्पनीहरु गाभिएको दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने समितिले जनाएको छ ।
गाभिने प्रकृयामा रहेका बीमा कम्पनीहरुले कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट अवकाश भुक्तानी कर कट्टी गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिने पनि समितिले जनाएको छ ।
बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६ अनुसार बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरू गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृति लिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुनसमेत पाइनेछ ।
यस्तै, गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पदअनुसारको तह वा श्रेणी भन्दा कम नहुने र खाईपाई भएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था पनि समितिले गरेको छ ।
मर्जर पश्चात बन्ने कम्पनीका कर्मचारीहरु काम गर्न इच्छुक नभए उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ ।
उक्त सुविधाहरु प्राप्त गर्न आयकर ऐनअनुसार गाभ्ने र गाभिने र प्राप्ति गर्न इच्छुक बीमा कम्पनीहरुले २०७९ असार भित्र गाभ्ने र गाभिने आशयपत्र आन्तरिक राजश्व विभागमा दिनुपर्नेछ । गाभ्ने र गाभिनको लागि आशयपत्र दिने बीमा कम्पनीहरुले गाभिने प्रकृया २०८० असारभित्र पूरा गर्नुपर्ने व्यवस्था रहेको छ ।