काठमाडौं । पुसदेखि जेठसम्म नेपालमा २ लाख ३७ हजार ६६० जना विदेशी पाहुना नेपाल भित्रिए । ६ महिनाको यो तथ्यांक दुई वर्षयताकै सबैभन्दा धेरै हो ।
सन् २०२० मा वर्षभरिमा २ लाख ३० हजार ८५ जना विदेशी पहुना नेपाल आएकामा २०२१ मा १ लाख ४९ हजार ८३३ जना मात्रै नेपाल भित्रिए । तर, सन् २०२२ को ६ महिनामै पर्यटक आवागमनको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
विश्वभर कोरोना भाइरसको प्रभाव न्यून हुन थालेपछि र विभिन्न देशले लगाएको प्रतिबन्ध पनि बिस्तारै खुल्दै गएपछि दुई वर्षसम्म घरमै थन्किएर बसेका नागरिक संसार घुम्न निस्किए । तीमध्ये केही छिटफुट रुपमा नेपालमा पनि आइपुगे ।
मदिरा र खानाका सौखिन पर्यटकहरू आफूलाई मन परेको खान र घुम्न विदेश जान्छन् । विश्वका महँगा मदिरा उनीहरूको रोजाइमा पर्छ । तर, नेपालमा सरकारले तीन महिनादेखि मदिरा आयात रोक्दा त्यसको प्रत्यक्ष असर घुमन्तेहरूमाथि परेको छ ।
देशले उनीहरुबाट आर्जन गर्ने विदेशी मुद्राको सामान्य हिसाबकिताबसमेत नगरी विगत तीन महिनादेखि मदिरा आयात ठप्प बनाउँदा त्यसको सीधा असर पर्यटकमाथि परेको एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् ।
पाँचतारे मेरियट होटलका सञ्चालकसमेत रहेका अग्रवालका अनुसार नेपालमा वार्षिक कति रुपैयाँबराबरको मदिरा आयात हुन्छ ? त्यसबाट सरकारले राजस्व कति प्राप्त गर्छ ? होटल तथा रेस्टुराँले कति भ्यालू एड गर्छन् ? र, मदिरा आयात गर्दा कति विदेशी मुद्रा बाहिरिन्छ भन्ने सामान्य हिसाबसमेत नगरी आयात रोक्दा विदेशी पाहुना नेपाल भित्रिनबाट निरुत्साहित हुँदै गइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा वार्षिक १ करोड १० लाख डलरबराबरको मदिरा नेपाल भित्रिएको छ । यो भनेको कस्ट इन्स्योरेन्स एन्ड फ्रेट (सीआईएफ भ्यालू) हो ।
तीन महिनादेखि नेपालमा मदिरा प्रतिबन्ध छ । त्यो बेलाको एक्सचेन्ज रेट १ डलरबराबर १२२ रुपैयाँ थियो । त्यसैका आधारमा हेर्दा नेपालमा १ अर्ब ३४ करोड लाख रुपैयाँबराबरको सबै ब्रान्डको विदेशी तयारी मदिरा भित्रिएको देखिन्छ । यसभित्र वाइन, ह्विकी, जिन, रमलगायत सबै तयारी मदिरा पर्छन् ।
सरकारले १३४ करोड रुपैयाँ खर्चिंदा ३५० करोड रुपैयाँ राजस्व संकलन गरिरहेको थियो । १३४ करोड रुपैयाँ भनेको आयातको शून्य दशमलव १३ प्रतिशत मात्रै हुन आउँछ । ‘शून्य दशमलव १३ प्रतिशतलाई निरुत्साहित गरेर विदेशी मुद्राको सञ्चिति बढ्छ ?’ अलफ्ट होटलका सञ्चालक सुमन पाण्डेको प्रश्न छ ।
सरकारले तयारी मदिरा र मदिराको कच्चापदार्थ एउटै हार्मोनी कोर्डमा राखिदिएको छ । विदेशी मदिरा आयात गर्दा शून्य दशमलव १३ प्रतिशत विदेशी मुद्रा बाहिर जान्छ । तर, सरकारले शून्य दशमलव ७३ प्रतिशत कुल राजस्वमा योगदान गर्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् । विदेशी मुद्रा जोगाउनभन्दा पनि केही व्यक्तिको स्वार्थमा परेर सरकारले निरन्तर मदिरा आयात रोकेको उनीहरुको तर्क छ ।
विदेशी पाहुनाले लोकल मदिरा मन पराउँदैनन् । उनीहरु संसारका महँगा मदिरा सेवन गर्न ठूलो धनराशि खर्चिएर घुम्न निस्किने गरेको अग्रवालको भनाइ छ । सरकारले यो निर्णयमा पुनर्विचार गर्नुपर्ने उनी बताउँछन् ।
‘कुल व्यापारमा मदिराको योगदान ठूलो भए आयात रोक्नु तर्कसंगत पनि हुन्थ्यो,’ उनले भने, ‘जम्माजम्मी कुल व्यापारमा शून्य दशलमव १३ प्रतिशत योगदान छ भने आयात रोक्नु आवश्यक छैन । सरकारले आयात रोक्दा चोरी बाटोबाट मदिरा नेपाल भित्रिने र यसले राज्यको राजस्व पनि गुम्छ ।’
पर्यटन व्यवसायीका अनुसार तीन महिनादेखि नेपालमा भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको छ । जति पनि तारे होटल भरिभराउ छन्, ती सबै भारतीय पर्यटकले भरिएका हुन् । भारतीय पर्यटकहरु खर्चालु पनि हुन्छन् ।
भारतमा अत्यधिक गर्मी भएको र नेपाल उपयुक्त मौसम भएकाले गर्मी छल्न उनीहरु नेपाल आउँछन् । तर, सरकारले यही बेला मदिरा आयात रोकेको व्यवसायीको गुनासो छ । अहिलेसम्म मदिरा आयातकर्तासँग भएको स्टकबाट काम चलिरहे पनि अबउप्रान्त आपूmहरुसँग मदिरा नभएको उनीहरुले भनिसकेका छन् । यस्तो बेला सरकारले आयात प्रतिबन्धको निर्णयलाई पुनर्विचार गर्नुपर्ने उनीहरु बताउँछन् ।
भारतमा मदिरा खुला रुपमा बेच्न वा सेवन गर्न पाइँदैन । त्यहाँका केही राज्यमा पूर्णरुपमा प्रतिबन्धित पनि छ । त्यहाँबाट आएका भारतीय नागरिकहरु विदेशी मदिरा सेवन गर्न रुचाउँछन् ।
‘जब उनीहरुको रोजाइमा विदेशी मदिरा हुन्छ भने उपभोग गर्न किन नदिने ? फेरि होटल रेस्टुरेन्टले अत्यधिक भ्यालू एड पनि गरेकै हुन्छन् । अहिले एक बोतल मदिरा आयात गर्दा औसतमा २० डलर बाहिर जान्छ । तर, यहाँ आइपुग्दा ८० देखि ९० डलर भइहाल्छ । एक बोतललाई होटलले तीन देखि ४ गुणा भ्यालू एड गर्छन् । त्यसबाट त विदेशी मुद्रा आर्जन भइहाल्यो,’ होटल एसोसिएसन अफ नेपाल (हान) का उपाध्यक्ष प्रवीण पाण्डे भन्छन् ।
२० डलरमा किनेको मदिराबाट सरकारले करिब ६० डलर राजस्व प्राप्त गर्छ । करसहितको मूल्यपश्चात् होटल रेस्टुरेन्टले भ्यालू एड गरेर विदेशी मुद्रा आर्जन गरिरहेका छन् भने मदिरा आयात रोकेर कहाँबाट फाइदा पुगेको छ ? उनको प्रश्न छ ।
महँगो मदिरा नेपाल आएका विदेशी पाहुनाहरुले खाने हुन् । उनीहरुले सेवन गर्दा नै विदेशी मुद्रा भित्रिने हो । यो तहको विदेशी मुद्रा भित्रिने अर्को कुनै वस्तु नभएको होटल व्यवसायीको तर्क छ ।
चोरी रोक्न तागत छ ?
सरकारले चोरीपैठारी भएर भित्रिने मदिरा रोक्न सम्भव नै नभएको व्यवसायीको तर्क छ । वैधानिक रुपमा मदिरा आयात गर्न पाउने बेलामै चोरीमार्फत आएको ३ सय कार्टुन मदिरा काठमाडौंमा समातिएको थियो । काठमाडौंभित्र भारतमा कर तिरेको मदिरा कसरी आइपुग्यो ? यहीँबाट सरकार चोरी रोक्न सक्छ कि सक्दैन भन्ने प्रष्ट हुन्छ ।
त्यसअघि कति मदिरा गैरकानुनी तवरबाट आयात हुन्थ्यो ? दुई पक्षीय डिल नमिल्दा कुरा बाहिर आयो । अहिले पनि त्यो क्रम जारी छ । जुन सामान सजिलै नेपाल छिर्न सक्छ, त्यो चोरी भएर नेपाली बजारमा भित्रिहाल्छ ।
अहिले मदिरा आयात रोकेर चोरीपैठारी गर्नेको दिन फिरेको छ । उनीहरुको गैरकानुनी धन्दाको ग्राफ उकालोतर्फ छ । यसले न सरकारलाई फाइदा भयो न त वैधानिक रुपमा आयात गर्नेलाई ।
नेपाल सरकारले तोकेको कर तिरेर स्वदेशी व्यवसायीले भारतीय सस्तो मदिरासँग लडाइ गरिरहनु परेको अवस्थामा अहिले त झन् पूर्ण प्रतिबन्ध लगाइएको छ । सरकारको यो नीतिले तस्करलाई मात्रै फाइदा पुगेको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।