काठमाडौं । सिन्धुली र ओखलढुंगा जोड्ने मोटोरेवल पक्किपुलको निर्माण कार्य सम्पन्न भएको छ ।
२०७३ असार २९ गते ठेक्का सम्झौता भएको उक्त पुल २०७९ असारमा सम्पन्न भएको पुल सेक्टर, काठमाडौं (साविक पुल योजना, पूर्वीक्षेत्र सेक्टर नम्बर दुई ललितपुर)ले जनाएको छ ।
सुनकोसी नदीमा बनेको सो पुलले सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट र ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ पलापुलाई जोड्ने छ । सो पुलको लम्बाइ २०० मिटर रहेको पुल सेक्टरले जनाएको छ ।
२०० मिटरको पुल निर्माण कार्य असारमा सम्पन्न भए पनि पुलको दायँ-बायाँको पहुँच सडक करिब १० मिटर भने निर्माणाधीन अवस्थामा छ । पुलको पहुँचमार्ग पनि साउन १५ सम्म निर्माण सम्पन्न हुने पुल सेक्टरका योजना प्रमुख केदार नेपाल बताउँछन् ।
योजना प्रमुख नेपालका अनुसार पहुँचमार्ग निर्माण भएपछि साना तथा ठूला गाडी हिँड्न मिल्नेछ । यद्यपि निर्माण सम्पन्न भएको ५ वर्षसम्म पुलमा क्षति पुगे वा अन्य समस्या आएमा निर्माण कम्पनीले मर्मत गर्नुपर्ने हुन्छ ।
पुल निर्माणका लागि २४ करोड ८१ लाख ४८ हजार रुपैयाँमा तुँदी शर्मा जेभीसँग ठेक्का सम्झौता भएको थियो । तर, सम्झौताभन्दा ४२ लाख ३ हजार रुपैयाँ कम रकममा निर्माण कार्य सम्पन्न भएको छ ।
क्यापिटल नेपालसँग कुरा गर्दै योजना प्रमुख नेपालले भने, ‘ठेक्का सम्झौता २४ करोड ८१ लाख ४८ हजारमा भए पनि पुल निर्माण सम्पन्न हुँदा २४ करोड ३९ लाख ४५ हजार रुपैयाँ मात्रै खर्च भएको छ, बाँकी पैसा सरकारकै नाममा बस्छ निर्माण कम्पनीले लान पाउँदैन ।’
२०७३ असार २९ गते तुँदी शर्मा जेभिसँग सम्झौता हुँदा पुल निर्माणको म्याद २०७६ हसार २८ गतेसम्म रहेको थियो । यद्यपि २०७८ जेठमा सुनकोसी नदीमा गएको बढीले पुलको ४० मिटर भाग बगाउँदा ६ करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो । सो पुल नयाँ टेक्नोलोजीअन्तर्गतको केवल ब्रिज हो ।
साथै विश्वव्यापि रुपमा फैलिएको कोरोना संक्रमणको कारण पनि पूर्व निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि कम्पनीको म्याद २०७९ असार मसान्तसम्म थपिएको थियो । थपिएको म्यादमा भने निर्माण कम्पनीले पुलको काम सम्पन्न गरेको छ ।
नवलपुरघाटमा पुल निर्माण भएसँगै काठमाडौंबाट रामेछापको पूर्वि अर्थात् लिखु कोसी क्षेत्र, ओखलढुंगाका र सोलुखुम्बुको यात्रा सहज हुनेछ ।
हाल काठमाडौं आउन/जान ओखलढुंगा, सोलुखुम्बु र खोटाङका स्थानीयले उदयपुरको घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने पक्की पुलको प्रयोग गर्दै आएका छन् । त्यस्तै रामेछापको लिखु क्षेत्रका स्थानीयले मन्थलीको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।
स्थानीय सडक पुलको रुपमा नवलपुरमा बनेको सो पुलले सिन्धुलीको फिक्कलतर्फ पुष्पलाल (मध्यपहाडी) राजमार्ग जोड्छ भने ओखलढुंगााको पलापुतर्फ मुख्य राजमार्ग नहुँदा स्थानीय सडकलाई जोड्ने छ । पुलको एकातर्फ मात्रै राट्रिय स्तरको रजमार्ग हुँदा सवारीधान आवतजवत र यात्रामा सहज भएपनि सडकको दूरी घट्ने विषय मुख्य प्राथमिकतामा नरहेको बताइएको छ ।
स्थानीय सडक पुलको रुपमा रहेको सो पुलले स्थानीय उत्पादित सामानलाई बजारसम्म पुर्याउन र स्थानीय नागरिकको जीवनमा सहज ल्याउने विश्वास गरिएको योजना प्रमुख केदार नेपाल बताउँछन् । नेपालले भने, ‘अहिले ओखलढुंगा तिर ठुलो राजमार्ग छैन, जिल्ला स्तरका स्थानीय सडक मात्रै हुन् । पछि विस्तारै ठूला राजमार्ग पनि बन्लान् तर, पुल बनेपछि नेटवर्क विस्तार भएको मान्न सकिन्छ ।’
निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्ने तयारी पनि पुल सेक्टरले गरेको छ । यद्यपी उद्घाटनको मिती र प्रमुख अतिथि कस्लाई बोलाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनको भनाइ छ ।
तर, निर्माण कम्पनी तुँदी शर्मा जेभीका तर्फबाट सो पुल निर्माणका प्रतिनिधि मदन माझी भने साउनको २५/२६ गते सम्ममा उद्घाटन हुने बताउँछन् । साथै प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने तयारी निर्माण कम्पनीले गरेको माझीको भनाइ छ ।
प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रुपमा बोलाउन स्थानीयले माग गरेको हुन सक्ने तर आधिकारिक जानकारी प्राप्त नभएको योजना प्रमुख नेपालले बताए ।