एजेन्सी । यति बेला श्रीलंका गम्भीर आर्थिक एवं राजनैतिक संकटबाट गुज्रिरहेको छ । चार महिनामा ४ पटक संकटकाल घोषणा भइसकेको छ । देशको बिग्रँदो अवस्थालाई हेर्दै कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गरेका छन् ।
टाट पल्टिसकेको श्रीलंकामा पहिलोपटक राजपाक्षे सरकारले १ अप्रिलमा संकटकाल घोषणा गरेको थियो भने ५ मा हटाएको थियो । त्यसपछि ६ देखि २० मेसम्म दोस्रोपटक र तेस्रोपटक १३ जुलाई २०२२ मा ।
२० जुलाईमा राष्ट्रपति चुनाव
२२५ सस्दयीय संसद्मा यही २० जुलाईमा राष्ट्रपति चुनाव हुँदैछ । रानिल विक्रमासिंघे, साजिथ प्रेमदास, अनुरा कुमारा दिसानायके र दुलास अल्हाप्परुमाले उम्मेदवारी दिएका छन् । ४४ वर्षपछि गोप्य मतदानमार्फत राष्ट्रपति चुनिँदैछ ।
श्रीलंकामा बिग्रँदो अवस्था
सन् १९४८ को स्वतन्त्रतापछि श्रीलंका सर्वाधिक आर्थिक संकटबाट गुज्रिरहेको छ । विदेशी विनिमय सञ्चिति छैन । आवश्यक वस्तुको आयात हुन सकिरहेको छैन । दैनिक उपभोग्य वस्तु रित्तिइसकेको छ । पाउने कुराको मूल्य अकासिएको छ । खाद्यवस्तु तथा इन्धन पनि सजिलै उपलब्ध छैन । यी सबैविरुद्ध आमजनता सडकमा उर्लिएर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
हालसालैको वल्र्ड फुड प्रोगामका अनुसार श्रीलंकामा ६० लाख मानिसले खाद्यसंकट झेलिरहेका छन् । विदेशी मुद्रा सञ्चिति नहुँदा आयात ठप्प बनिरहेको छ, जसकाे प्रत्यक्ष असर आमजनतामा परेकाे छ ।