काठमाडौं । कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण हुन लागेको ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाको काम पुसदेखि सुरु हुने भएको छ । आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको जनाएको छ ।
आयोजनामा ३ वटा बैंकहरूले लगानी गर्ने भने पनि ऋण सम्झौता हुन नसक्दा आवश्यक लगानी व्यवस्थापन भएको छैन । ग्लोबल आईएमई बैंकको नेतृत्वमा सनराइज बैंक र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) लगायतका बैंकहरुको सहवित्तीयकरणमा ५७ अर्ब रुपैयाँ ऋण लगानी गर्न कुरा भएको छ भने सनराइज र निफ्रा सहनेतृत्वको (को–लिड) रूपमा ऋण लगानी हुने कुरा चलेको छ ।
बैंकहरुसँग छलफल चले पनि ऋण सम्झौताको चरणमा नपुगेको बेतन कर्णाली सञ्चयकर्ताका प्रबन्ध सञ्चालक दीपक रौनियार बताउँछन् । ग्लोबल, सनराइज र निफ्रासँग लगानीका लागि छलफल चलिरहेकाे भए पनि वित्तीय बजारमा तरलताको संकट जारी रहेकाले असर गरेको उनको भनाइ छ ।
बैंकसँग लगानी सम्झौता नभए पनि कम्पनीले आयोजनाको पूर्वाधार तयारीको काम गरिरहेको उनले सुनाए । आयोजना बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुनेछ । आयोजनामा कोषमा आबद्ध ६ लाखभन्दा बढी सञ्चयकर्ताको स्वपुँजी (इक्विटी) लगानी हुनेछ भने बैंकहरूबाट ५७ अर्ब रुपैयाँ ऋण लगानी हुनुपर्ने छ ।
आयोजना निर्माणमा ७५ अर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । जसमध्ये ५२ देखि ५६ अर्ब रुपैयाँ बैंकबाट ऋण लगानी र बाँकी २३ अर्ब रुपैयाँ स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये ९ अर्ब रुपैयाँ सञ्चयकर्ताबाट उठाउने र बाँकी अन्य संस्थाबाट जुटाउने तयारी छ । सञ्चयकर्ताबाट सबै लगानी उठिसकेको छ ।
सुदूरपश्चिम प्रदेशको अछाम र कर्णाली प्रदेशको सुर्खेतको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा बन्न लागेको बेतन कर्णाली अर्धजलाशययुक्त आयोजना हो । आयोजनाको बाँधस्थल अछामको ढकारी गाउँपालिका–६ मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका–६ र विद्युतगृह अछामको ढकारी गाउँपालिकामै पर्ने टटालीघाटमा रहनेछ । डाइभर्सन टनेल चौकुने गाउँपालिकाको वडा नं ६ मा पर्दछ ।
कम्पनीले आधारभूत तयारी सबै सम्पन्न गरेर जनवरी २०२३ देखि निर्माण सुरु गर्ने तयारी भइरहेको जानकारी गराएको छ । आयोजनाको साइट क्याम्प निर्माण पूरा भएको छ भने टेस्ट टनेल खन्ने काम भइरहेको छ ।
आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किलोमिटर पहुँच सडक निर्माणकार्य पूरा भएको छ । सुर्खेतखण्डमा १४ किमिमध्ये १० किलोमिटर पूरा भएको छ । पहुँच सडक निर्माणपछि कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिनेछ । हाल आयोजनास्थलमा अछाम सुर्खेत जोड्ने झोलुङ्गे पुल सञ्चालनमा छ ।
सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको वडा नं ७ र अछाम जिल्लाको ढकारी गाउँपालिकाको ६, तुर्माखाँद गाउँपालिकाका ३,४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् ।
आयोजनाका लागि आवश्यक पर्ने विद्युत आपूर्ति (कन्स्ट्रक्सन पावर) कम्पनीले कैलालीको सुगरखालदेखि करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया अघि बढिसकेको छ । पाँच सय ७० मिटर टेस्ट अडिट टनेलमध्ये करिब ५०० मिटर पूरा भएको जनाइएको छ ।
१७२.७५ मिटर लम्बाइ र ९० मिटर उचाइकाे बाँध प्रस्ताव गरिएको छ । बाँधदेखि २ किलोमिटर तल भूमिगत विद्युतगृह बन्नेछ । विद्युतगृहमा ७१.६८ मेगावाटका छ वटा टर्बाइन रहनेछन् । आयोजनाले विद्युत खरिदबिक्री सम्झौता (पीपीए) का लागि प्रक्रियाअघि बढाइसकेको छ ।
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावरले यसअघि नै सेयर संरचनाको टुंगाे लगाइसकेको छ । सेयर संरचनाअनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, प्रभावित स्थानीय बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अतिविपन्न परिवारको दुई प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।
आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको ९ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख वार्षिक आय हुने अनुमान गरिएको छ । कोषका सञ्चयकर्ताले पाउने नाफाको ०।५० प्रतिशत आयोजनामा लगानी भइरहेको छ ।
कुल २३ अर्ब स्वपुँजीमध्ये सञ्चयकर्ताबाट ८ अर्ब ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।