काठमाडौं । के तपाईंहरुले आगामी दसैं–तिहारको छेको पारी नयाँ पेट्रोलियम गाडी खरिद गर्ने योजना बनाउनुभएको छ ? यदि बनाउनुभएको छ भने, यो वर्ष योजना सफल नहुने लगभग निश्चित छ ।
कारण हो, सरकारले यसअघि २०७९ वैशाख १४ देखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्ध लम्ब्याएर भदौ १४ गते पुर्याउनु ।
हिन्दू धर्मावलम्बीहरुको ठूलो चाड दसैं–तिहारमा नयाँ गाडी खरिद गर्नेहरु धेरै हुन्छन् । तर, सरकारको पछिल्लो निर्णयले गर्दा ग्राहकले नयाँ गाडी पाउन असम्भव देखिएको छ ।
आर्थिक वर्ष २०७९/८० को साउनदेखि आयात खुल्ने आसमा बसेका व्यवसायीहरुलाई उक्त निर्णयले निराश बनाएको छ । वैशाखदेखिको प्रतिबन्धले समस्या भोग्दै आएका उनीहरु थप समस्यामा परेका छन् । जसले गर्दा गाडी व्यापारको मुख्य सिजनसमेत ठप्प हुने भएको हो ।
नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) का अध्यक्ष धुव्र थापाले सरकारको पछिल्लो निर्णयले अटो व्यवसायी थप धराशायी बन्ने बताए । लामो समयदेखि लाग्दै आएको आयात प्रतिबन्ध साउनदेखि खुल्ने आशा गरे पनि सरकारको यो निर्णयले थप समस्यामा पर्ने उनको भनाइ छ ।
प्रतिबन्ध खुलेर एलसी खोलको तीन महिना पछि मात्र सवारी साधान नेपाल आइपुग्ने भएकोले दसैं र तिहारको व्यापार पनि चौपट हुने अवस्थामा पुगेको उनले सुनाए ।
गाडी आयात खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुसमेत तयार रहँदा पनि एक्कासि प्रतिबन्धलाई लम्ब्याउनु गम्भीर विषय भएको व्यवसायीहरुको भनाइ छ ।
‘आयात प्रतिबन्धले हामीलाई मात्र होइन, सरकारलाई समेत असर गरेको छ,’ नाडा अध्यक्ष थापा भन्छन्, ‘हाम्रो व्यापारसहित राजस्वमा पनि चौपट असर पुगेको छ ।’
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले सरकारी निकायले अटो क्षेत्रको महत्व नबुझेकै कारण समस्या आएको बताए । नेपाललाई श्रीलंका बन्नबाट रोक्न भन्दै गाडी आयातमा रोक लगाउनु आफैंमा मूर्खता भएको उनको भनाइ छ ।
‘गाडीलाई लक्जरियस सामानभित्र राखी अत्यावश्यक वस्तुमा आयात रोक्दा झनै समस्या निम्तिएको छ,’ उनले भने, ‘तत्कालै आयात खोल्न सरकारसँग आग्रह गर्छु ।’
पछिल्लो निर्णयले अटो व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले सरकारले बेलैमा पुनर्विचार गर्न आवश्यक रहेको उनको भनाइ छ । यस्तै सरकारको तारोमा सधैं अटोक्षेत्र परेको भन्दै राजस्वमा पुर्याएको योगदानको कदर गर्न कहिल्यै नजानेको दुखेसोसमेत पोखे ।
नाडा अटो सो अनिश्चित
आगामी भदौ ७ देखि १२ गतेसम्म निर्धारण गरिएको नाडा अटो सो रोकिने सम्भावना बढेको छ । साउनदेखि आयात खुल्ने भनेर अटो सोको तयारी गरेका व्यवसायीहरु थपिएको आयात प्रतिबन्धले नयाँ गाडी नआउने निश्चित भएपछि रोक्ने वा सार्ने भन्ने विषयमा छलफल अगाडि बढाएको अध्यक्ष थापाले जानकारी दिए ।
‘अटो सोमा गाडी ल्याएर बुकिङ गरिएका गाडी ग्राहकलाई डेलिभरी गर्ने मिति तोक्न असम्भव देखियो,’ थापाले भने, ‘त्यसपछि तत्कालका लागि रोक्ने गरी छलफल अघि बढाउन लागिएको हो ।’