काठमाडौं । राष्ट्रिय विद्युत प्रणालीमा आर्थिक वर्ष २०७८/०७९ मा २६७.५९४ मेगावाट विजुली जोडिएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागका अनुसार १८ वटा जलविद्युत आयोजनाबाट २६७.५९४ मेगावाट बढी विजुली आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आइतबार विभागको २९ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक सन्दिप कुमार देवले देशका विभिन्न आयोजनाबाट उत्पादन भएको जलविद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिाएको बताएका हुन् ।
वार्षिक उत्सव कार्यक्रममा बोल्दै महानिर्देशक देवले भने, ‘हामीले गत आर्थिक वर्षमा मात्रै १८ वटा आयोजनाबाट २५० मेगावाट बढी विद्युत उत्पादन गरेका छौं, यो खुसीको कुरा हो ।’
आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय प्रसारण लाइनमा जोडिएका १८ वटा जलविद्युत आयोजनामध्ये ३३ वटा आयोजना लमजुङ र दोलखा जिल्लामा इलाम र रामेछापमा २/२ वटा छन् भने पर्वत, पाँचथर, खोटाङ, गोरखा, नुवाकोट, सर्लाही र सोलुखुम्बुमा १/१ वटा रहेको विद्युत विकास विभागले जनाएको छ । त्यस्तै एउटा जलविद्युत आयोजना ओखलढुंगा र रामेछाप जिल्लामा रहेको छ ।
जसमध्ये गत आवमा सबैभन्दा बढी ५२.४ मेगावाट विद्युत उत्पादन रामेछाप र ओखलढुंगा जिल्लामा रहेको लिखु ४ जलविद्युत आयोजनाले र सबैभन्दा कम ३ मेगावाट विद्युत सर्लाहीको ‘इन्दुशंकर सहउत्पादन तथा विद्युत प्रसारण लाइन आयोजना’ले गरेको छ ।
विभागको स्थापना २०५० साउन १ गते भएको थियो । हालसम्म विभागले २३ वटा जलविद्युत आयोजनाहरुको अध्ययन सम्पन्न गरिसकेको छ । विभागलाई आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बजेट प्राप्त भएकामा २०७९ असार २७ गतेसम्म ८२.४० प्रतिशत वित्तीय प्रगति भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को लागि विभागलाई २ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । कार्यक्रममा उर्जा मन्त्रालयका सचिव सागर कुमार राई, राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रलाल कर्णलगायतको उपस्तिथि रहेको थियो ।
ऊर्जा सचिव राईले जलविद्युत निकाल्न लाइसेन्स दिने बेलामा ख्याल गर्नुपर्ने बताएका छन् ।
‘एउटै खोलामा क्षमता छ भन्दैमा १० ठाउँबाट विद्युत निकाल्न अनुमति दिनु भएन, वन, वातावरण, निकुञ्जहरुको पनि ख्याल गर्नुपर्छ’ सचिव राइले भने ।