एजेन्सी । आगामी वर्ष सन् २०२३ मा विश्व बजारमा पेट्रोलियम पदार्थको माग घट्ने अनुमान गरिएको छ । तेल निर्यातक देशहरुको संगठन (ओपेक) ले आगामी वर्ष विश्व बजारमा तेलको माग घटेर दैनिक २७ लाख ब्यारेलमा झर्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।
विश्वमा हाल तेलको माग दैनिक ३३ लाख ६० हजार ब्यारेल रहेको ओपेकले जनाएकाे छ ।
विश्वमा आर्थिक मन्दी र चीनमा माग कम भएकाले तेलको माग घट्ने ओपेकको अनुमान छ ।
ओपेकको तेल मागको पूर्वानुमानअनुसार युक्रेनमा युद्धले आर्थिक वृद्धिलाई असर गर्ने छैन् । यस्तै, चीनले कोभिडमा लगाइएको प्रतिबन्धहरू हटाउने ओपेकको अनुमान छ । यद्यपि वृद्धिको वार्षिक गति यस वर्ष ३३ लाख ६० हजार ब्यारेल प्रतिदिनबाट आगामी वर्ष २७ लाख ब्यारेलमा झर्ने अपेक्षा गरिएको छ ।
तर सन् २०२३ मा कुल विश्व माग औसतमा १ करोड ३० लाख ब्यारेल रेकर्ड उच्च हुने अनुमान पनि गरिएको छ । जुन २०२२ को अनुमानित १ करोड ब्यारेलको भन्दा बढी हुनेछ । ओपेकले २०२३ को चौथो त्रैमासिकमा विश्वव्यापी तेलको माग १ करोड ५ लाख ४० हजार ब्यारेल प्रति दिनको उच्च बिन्दुमा रहेको जनाएको छ ।
सन् २०२३ मा विश्वव्यापी अर्थतन्त्र बढ्ने र कोभिड र युक्रेनको युद्ध वा मौद्रिक नीतिमा गरिएको कडाइले आर्थिक वृद्धिलाई ठूलो हदसम्म असर नगर्ने ओपेकको अनुमान छ । यस्तै, विश्वव्यापी तेल मागको अनुमानले पनि प्रमुख अर्थतन्त्रहरू वृद्धितर्फ फर्किने ओपेकले अनुमान गरेको छ ।
गत महिना २०२३ का लागि सार्वजनिक गरेको पहिलो परिदृष्य (आउटलुक) मा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आगामी वर्ष तेलको माग वृद्धि तीव्र हुने बताएको थियो । उच्च मूल्य र कमजोर आर्थिक वृद्धिले उपभोग वृद्धिलाई मध्यस्थता गरिरहेको बेला पुनरुत्थान भएको चीनले आगामी वर्ष लाभ उठाउन सक्ने संभावना बढेको ओपेकको भनाई छ ।
एनर्जी कन्सल्टेन्सीको नयाँ अनुसन्धानका अनुसार विश्वमा पत्ता लागेका तेल र ग्याँस भण्डारमध्ये आधा–६५ प्रतिशतभन्दा बढी राष्ट्रिय तेल कम्पनीहरूको नियन्त्रणमा छन् । विश्व बजारमा कच्चा तेलको भाउ बढेर व्यारेलको १०३ डलरसम्म पुगेको छ ।
केही दिनअघि कच्चा तेलको भाउ घटेर व्यारेलको ९९ डलरमा झरेको थियो । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा तेलको आपूर्ति श्रृङखला कमजोर हुँदा भाउ बढेर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । पछिल्लो समय कच्चा तेलको भाउ १०० डलर आसपासमा रहेको छ ।