टीकापुर । कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् । पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहज हुने जनाइएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि तराई, पहाड र हिमाली जिल्लाका नागरिकलाई सहज हुनेछ । सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दाले पैदलयात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छन् ।
सो बाटो भएर कैलाली र सुर्खेतका नागरिकमात्र आवतजावत गर्ने नभई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक पनि हिँड्ने गर्छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरिप्रसाद ढकाल घाटगाउँ, गल्टा, तातापानी जोड्नेमात्र पुल नभई दैलेख, अछाम, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई पनि यो पुलले सहज हुने जानकारी दिए ।
“पहिला डुंगाबाट तर्नुपर्थ्यो त्यसमा निकै असहज हुन्थ्यो । डुंगा तर्नुपर्दा दुईदेखि चार दिनसम्म कुर्नुपर्ने बाध्यता थियो”, उनीले भने, “अहिले धेरै सहज भएको छ । यो बाटोमात्र नभई अछाम, दैलेख, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई तराईसँग जोड्ने माध्यम पनि हो ।”
यी बाटाहरू पुराना बाटाका रूपमा चिनिएका बाटा हुन् । विगतमा यी बाटा भएर हिँड्ने नागरिकले निकै नै कष्टकररूपमा यात्रा गर्नुपर्थ्यो । कर्णाली नदीमा झोलुङ्गे पुल पनि नहुँदा दुई–तीन दिन कुरेर डुङ्गाबाट नदी तर्ने गरिन्थ्यो । पुल बनेपछि सबै समस्या समाधान भएका चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दराम खनालले बताए ।
“यो धेरै पुरानो बाटो हो । विगतमा घोडा चढेर आउने, डुंगा कुर्नुपर्ने बाध्यता थियो । तर अहिले जतिखेर हिँडे पनि सजिलो छ”, उनले भने, ‘‘पहाडी जिल्लाका मानिसलाई पुल बनेपछि निकै सहज भएको छ ।”
पश्चिम नेपालको तराई, पहाड हुँदै हिमालसम्म जोड्ने छोटो दूरीका रूपमा रहेका यी बाटा पहिलेदेखि नै चलनचल्तीका हुन् । इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवतजावतमा सजिलो हुनुका साथै चिसापानी कुइने क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउदले जानकारी दिए।
“परम्परागत इतिहास बोकेका बाटा हुन् । पहाडी जिल्लाका मानिस हाट आउने बाटा हुन् यी, चिसापानी कुइने पर्यटकीय दृष्टिले पनि यो सुन्दर ठाउँ हो”, उनले भने, “यो बाटोले तराई, पहाडमात्र नभएर हिमाली जिल्लालाई जोड्ने भएकाले यहाँ धेरै फाइदा भएको छ ।”
अनक कन्ट्रक्सन रोशन जेभीले विसं २०७४ बाट निर्माण सुरु गरेको चिप्लेघाट पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको चौकुने गाउँपालिका–१० जोड्ने चिप्लेघाट पुुल ६२ करोड रूपैयाँको लागतमा निर्माण भएको हो । पाँच सय ५० मिटर लामो पुलको आठवटा स्पान रहेका छन् ।
अर्को पुल कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ जोड्ने कुइनेघाटमा निर्माण भएको छ । अनक लुम्बिनी जेभीले निर्माण गरेको यो पुलको पनि निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । ३ सय मिटर लामो मल्टी स्पान आर्क ब्रिज ३२ करोड रूपैयाँको लागतमा निर्माण भएको हो ।
पुलको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको र आउँदो दसैंभित्र पुलमाथि सवारीसाधन हिँडाउने तयारी भइरहेको पुल निर्माण कम्पनीका प्रबन्धक दिनेश श्रेष्ठ बताए । “अहिले कर्णाली चिप्लेघाटमा बनेको पुल सम्पन्न भइसकेको छ । अर्को पुलमा साइडमा मानिस हिँड्ने बाटो बन्दैछ । अब केही दिनमा सञ्चालन हुन्छ”, उनले भने ।
यी दुवै पुल नेपाल सरकार सडक विभागको पुल आयोजनाअन्तर्गत बनेका हुन् । यसरी पुल पुलेसा बन्नु भनेको विकासका कार्य हुनुका साथै नागरिकलाई सडक, सुविधासँग जोड्ने काम हुने स्थानीय रेवती धामी बताए। “डुंगाको जोखिमपूर्ण यात्राबाट मुक्ति पाएका छौं”, उनले भने, “पुल बनेकाले अब यहाँसम्म सहजरूपमा पुग्ने सडक सञ्जालको विस्तार गर्नुपर्छ ।” रासस