डोटी । डोटीमा महिनैपिच्छे खाने तेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिले विपन्न वर्गलाई बढी असर गरेको छ ।
मूल्यवृद्धिले विपन्न परिवारलाई बिहान–साँझ खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको दिपायल पिपल्लाका सोनु कामीले बताए। उनले भने, ‘मूल्यवृद्धिका कारण दैनिक आवश्यक पर्ने तेल, तरकारी किन्न सक्ने अवस्था पनि भएन, हामी गरिखाने वर्ग मारमा पुर्यायौं ।’
सोनुका अनुसार डोटीका पसलहरूमा खाने तेल, साग र तरकारीको मूल्य महिनैपिच्छे वृद्धि हुँदै गइरहेको छ ।
दिपायल बजारमा प्रतिलिटर खानेतेलको मूल्य ३६० सम्म पर्ने गरेको उपभोक्ताको गुनासो छ । यसैगरी गेलभेँडाको मूल्य बढेर अहिले १६० रुपैयाँ पुगेको छ । आलु प्रतिकिलो १००, भिन्डी ७०, काउली ९०, रायोको साग मुठाको ५०, लौका र फर्सी एक किलोको ४० देखि ५० रुपैयाँ पुगेको स्थानीयवासी दीपकबहादुर साउदले बताए । उनले तरकारी र तेलको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेको जानकारी दिए ।
तराईका जिल्लाबाट तरकारी तथा तेल आयात गरिने भएका कारण ती क्षेत्रमा मूल्यवृद्धि भएपछि यहाँ पनि मूल्यवृद्धि भएको दिपायल पिपल्लाकी तरकारी व्यवसायी बब्ली श्रीवास्तवले बताए ।
उनका अनुसार तरकारी, खानेतेल सबै तराईबाट आउने भएकाले यहाँ महँगो भएको हो । आफूखुसी मूल्य नबढाएको उनकाे भनाइ छ ।