काठमाडौं । सरकारले आयात प्रतिबन्धमा थप कडाइ गरेको छ । यसअघि असार मसान्तसम्म लगाएको प्रतिबन्धलाई लम्ब्याउँदै भदौ १४ पुर्याएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मोटरसाइकल र मोबाइल आयातमा थप कडाइ गर्दै समय थपेको हो ।
विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले १५० सीसीभन्दा माथिका बाइक ल्याउन प्रतिबन्ध लगाएको छ। यसअघि २५० सीसीमाथिका मात्रै आयातमा प्रतिबन्ध थियो ।
यस्तै मोबाइलमा पनि तीन सय डलरसम्मका मात्रै ल्याउन खुला गरेको छ। यसअघि ६ सय डलरसम्म ल्याउन पाइने व्यवस्था थियो ।
यसबाहेक कुरकुरे, कुरमुरे, लेज र यसका उत्पादनको आयातमा समेत प्रतिबन्ध लगाइएको छ । औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका मदिरा आयातमा पनि सरकारले प्रतिबन्ध लगाएको हो ।
यसैगरी औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट, सुर्तीजन्य पदार्थका साथै हीरा पनि ल्याउन पाइने छैन । राजपत्रमा प्रकाशित सूचनाअनुसार ३२ इन्चभन्दा माथिको रंगिन टीभी ल्याउन रोक लगाइएको छ भने जिप, कार, भ्यान र खेलौनाको आयातमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।
साथै साउन १ गतेअघि नै प्रतीतपत्र (एलसी) खुलेको भए १ सय ५० सीसीदेखि २ सय ५० सीसीसम्मका मोटरसाइकल ल्याउन पाइनेछ पनि सूचनामा उल्लेख छ।
मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालू वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो ।
तर, विदेशी मुद्रा सञ्चितिमा सुधार नआएको भन्दै प्रतिबन्धलाई थप ४४ दिन लम्ब्याएको हो ।