काठमाडौं । प्रस्तावित धरान–लेउती सुरुङमार्गको संभाव्यता अध्ययन प्रतिवेदन (फिजिबिलिटी रिपोर्ट) तयार भएको छ । २०७९ असार अन्तिममा सार्वजनिक भएको फिजिबिलिटी रिपोर्टले धरान–लेउती सुरुङमार्ग बनाउन १० अर्ब ६३ करोड रुपैयाँ लाग्ने देखाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ अर्थात गत असारबाट सुरु भएको फिजिबिलिटी अध्ययन १ वर्षमा सकिएको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सीडीई) सौरभ बज्राचार्य बताउँछन् ।
धरान–लेउती सुरुङमार्गको फिजिबिलिटी अध्ययन ‘टीएमएस ईआई माभेन रेस जेभी’ ले गरेको हो । कुल लम्बाइ ७८ किलोमिटर रहेको धरान–धनकुटा सडकखण्डमा उक्त सुरुङमार्ग निर्माण हुन लागेको हो । सो क्षेत्रमा ३.८६ किमि लामो सुरुङमार्ग बन्ने भएको छ । जसले १५ किमि सडकखण्डको दूरी घट्ने सीडीई बज्राचार्य बताउँछन् ।
‘टीएमएस ईआई माभेन रेस जेभी’ ले ३० लाख १५ हजार रुपैयाँमा फिजिबिलिटी अध्ययन सम्पन्न गरेको हो । यद्यपि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन हुने समय भने निश्चित हुन सकेको छैन ।
‘आर्थिक वर्ष ०७९/०८० को लागि पर्याप्त बजेट व्यवस्था नहुँदा डीपीआर अध्ययन कहिले हुन्छ भन्न सक्ने अवस्था छैन,’ उनले भने ।
आर्थिक वर्ष ०७९/०८० का लागि धरान–लेउती सुरुङमार्ग निर्माण शीर्षकमा १ करोड रुपैयाँ बजेट प्राप्त भएको केन्द्रले जनाएको छ । तर, बजेट नआउँदा डीपीआर अध्ययनको समय अनिश्चित बनेको हो ।
बजेट भए ठेक्का आह्वान गर्न डीपीआर नचाहिने
धरान–लेउती सुरुङमार्ग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपिसी) मोडलमा निर्माण गर्ने तयारी गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गरेको छ । ईपीसी मोडलमा सुरुङमार्ग निर्माण गर्दा स्रोत सुनिश्चित भएमा डीपीआर तयार नभए पनि ठेक्का आह्वान गर्न सकिने सीडीई बज्राचार्यको भनाइ छ ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘ईपीसी मोडलमा सुरुङ निर्माण गर्न फिजिबिलिटी अध्ययनको आधारमा ठेक्का निकाल्न सकिन्छ । डीपीआर पछि गरे पनि हुन्छ ।’
ठेक्का आह्वान गर्न डीपीआरभन्दा पहिलो आवश्यकता बजेटको रहेको बताइएको छ । धरान–लेउती निर्माणको लागि आर्थिक वर्ष ०७९/०८० लाई १ करोड बजेट विनियोजन भएको छ । जसले निर्माण खर्च नपुग्ने भएकाले तत्काल ठेक्का आह्वान हुने सम्भावना भने छैन ।
यद्यपि १० अर्ब रुपैयाँबराबरको स्रोत दिने प्रतिबद्धता अर्थ मन्त्रालयले गरेकाले चालू आर्थिक वर्ष ०७९/०८० मै ठेक्का लाग्न सक्छ । ‘सिद्धबाबा सुरुङमार्गको बजेट पनि हामीसँग १ अर्ब रुपैयाँ मात्रै थियो, अर्थले १० अर्ब रुपैयाँको प्रतिबद्धता पाएपछि ठेक्का लगाएका छौं । धरान–लेउतीमा पनि त्यस्तै हो बजेट दिने प्रतिबद्धता भयो भने समस्या हुँदैन,’ सीडीइ बज्राचार्यले भने ।
सुरुङमार्गका दुई प्रवेशद्धार भने धरानको खार्दु र लेउतीमा रहने बताइएको छ । अनुसन्धान केन्द्रका अनुसार सुरुङ बनेपछि घट्ने १५ किलोमिटर सडकमा धेरै घुम्ती पनि छन् ।
सुरुङका कारण सडकका घुम्तीहरु पनि छोटिने भएकाले लामो दूरीको यात्रा गर्न सहज हुने बताइएको छ । तर, सुरुङ बने पनि सडक भने खुला रहने छ । अर्थात् छोटो दूरीको यात्रा गर्नेहरुले अहिलेको बाटो प्रयोग गरेर यात्रा गर्न सक्छन् । लामो दूरीको यात्रा गर्नेहरुलाई लक्षित गरेर धरान–लेउती सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।
हाल नेपालमा सडक सञ्जालको क्षेत्रमा नागढुंगा सुरुङमार्ग जापान सरकारको सहुलियतपूणृ ऋण सहयोगमा निर्माणाधीन छ । त्यस्तै पाल्पाको सिद्धबाबा सुरुङमार्ग स्वदेशी लगानीमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ । यद्यपि निर्माण सुरु भने आगामी मंसिरबाट मात्रै हुनेछ ।
त्यसबाहेक जापान सरकारकै आर्थिक सहयोगमा बीपी राजमार्गमा खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्ने तयारी हुँदैछ । देशभरि सडक सञ्जालकको क्षेत्रमा २ दर्जन बढी सुरुङमार्ग निर्माण गर्ने घोषणा भए पनि नेपालको आर्थिक अवस्था कमजोर भएको र सबै स्थानमा सुरुङको आवश्यकता नरहेको इन्जिनियरहरु बताउँछन् ।