काठमाडौं । हिमाल एअरलाइन्सले काठमाडौंबाट कुवेत उडान सुरु गरेको ।आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दैे आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको लागि हिमालय एअरलाइन्स्ले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको हो ।
निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाई १५, २०२२, शुक्रबार राती २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ०९ः१७ बजे काठमाडौं अवतरन गरेको थियो ।। एअरलाइन्स्ले हरेक शुक्रबार काठमाडौंदेखी कुवेत र हरेक शनिबार कुवेतदेखी काठमाडौं उडान सञ्चालन गर्नेछ ।
अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहेकोमा हिमालय एअरलाइन्सद्धारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।
नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो । यस सन्दर्भमा काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउनु हिमालय एअरलाइन्स्को लागी गर्वको कुरा हो । यो क्षेत्र सञ्चालनमा आएपछि रोजगारी, व्यापार र पर्यटनका लागि दुवै देशका यात्रुहरुको आवतजावतमा थप सहजता प्रदान हुने एअरलाइन्सको विश्वास छ ।
कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले भने “हिमालय एअरलाइन्स् एक प्रगतिशील वायुसेवा कम्पनी हो जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरुवात पनि सोही भावना अनुरुप गरेको हो ।”
कोभिड–१९ महामारी र पछिल्लो समयको युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एअरलाइन्स्का लागि यस नयाँ रुटमा सेवा सुचारु गर्दा केही सहजता प्रदान हुने उनले बताए ।
एअरलाइन्सको एअरबस् ३२० लाई प्रयोग गरिने यस रुटको टिकट बुकिङ्गका लागि यात्रुहरूले हिमालय एअरलाइन्सको बिक्री कार्यालय वा नजिकको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्नेछन् ।