पोखरा । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसी पर्र्यटनको पहिचानका रूपमा रहेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने चिन्ताले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।
हिजो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन दिनरात अनशन बसेका व्यवसायीहरू आज त्यही विमानस्थलले झन्डै डेढ अर्बको लगानीमा रहेको आफ्नो व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्ताले व्यवसायीलाई पिरोलेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको र सोका लागि प्याराग्लाइडिङ विकल्पको छनोट गरेर सार्न निर्देशनसमेत दिएको छ तर व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ ।
“प्याराग्लाइडिङ पोखराको साहसिक पर्यटनको एउटा ब्रान्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन्, त्यो अन्यत्रबाट हुँदैन । तसर्थ यही कतै व्यवस्थापन गर्नुपर्छ”, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनीलबहादुर भट्टराईले भने । उनले सरकारले चाह्यो भने समय छुट्ट्याएर यही आकाशबाट उडाउन सक्ने र आफूहरूको पनि त्यही माग भएको बताए ।
“हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्ने विषयमा जति उत्साहित भएका थियौं, अहिले विमानस्थल निर्माणसँगै कतै आफ्नै व्यवसाय नै विस्थापित हुन्छ कि भन्ने चिन्ताले पिरोलिएका छौं”, भट्टराईले भने । उनले पोखरा पर्यटकको हब भएकाले पनि पर्यटकको रोजाइमा रहेको साहसिक गतिविधिका बारेमा प्याराग्लाइडिङ व्यवसायी मात्र नभएर समग्र पर्यटन क्षेत्रको पनि भएकाले यसलाई व्यवस्थापन गर्नुपर्ने उनको जोड छ ।
“के कसरी हुन्छ, विकल्प त पक्कै छ, त्यसको खोजी गरेर रोक्नुपर्छ, जहाज उडानको समय तालिकालाई ध्यान दिएर प्याराग्लाइडिङका लागि दुई घण्टा समय–समय तोकेरै भए पनि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नाका पूर्वअध्यक्ष योगेश भट्टराई पोखराको ब्रान्डका रूपमा स्थापित प्याराग्लाइडिङको व्यवस्थापनमा सरकारले विशेष चासो दिनुपर्ने बताए । “हामीलाई पूर्वाधार मात्र होइन पूर्वाधार निर्माणपछि आउने पर्यटक पनि चाहिएको हो, जसले पोखरामा आनन्द लिन सकुन र उनीहरूको बसाइ पनि लम्बियोस् ।”
उनले पोखराको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट ३ भित्र पर्ने र साहसिक पर्यटकका लागि उपयुक्त गन्तव्य भएको बताए । विश्वका कतिपय देशहरूमा जहाज उडानसँगै ‘एयर स्पोट्स’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशहरूमा भएका अभ्यासको अध्ययन गरेर अनुशरण गर्न सकिने बताए ।
प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुखद् भएको उनको भनाइ छ । “अब कसरी जाने विकल्प के–के हुनसक्छ ? विमानस्थलसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको सम्भावना अध्ययनको रिपोर्ट के छ भन्ने बारेमा पनि स्पष्ट धारणा आएको छैन, उडान सम्भव छैन मात्र भनिएको छ”, उनले प्राविधिक कुरा भएकाले व्यवस्थापन गर्न सके सम्भव हुने बताए ।
दिनमा बढीमा दुई घण्टामात्रै भए पनि समय दिएर उडान भर्नुपर्ने निवर्तमान अध्यक्ष कृष्ण भण्डारीको छ । “हामी कुनै हालतमा पनि पोखराको आकाशबाट उडान हुनुपर्छ भन्नेमा छौं । त्यसको प्राविधिक व्यवस्थापनसँगै दिगो पर्यटनका लागि प्राधिकरणले सोच्नुपर्छ ।”
उनले जहाजको ‘ओभर सुट मिस एप्रोज हुँदा त्यसलाई राइट टर्न नगरी लेफ्ट टर्न गर्यो भने प्याराग्लाइडिङ पनि हुने र जहाज उडानमा थप सुरक्षा हुने भएकाले प्राधिकरणले यसलाई अवलम्बन गरेर सञ्चालन गर्न उनको आग्रह छ ।
आफूहरूले प्याराग्लाइडिङ विस्थापन होइन व्यवस्थापन गर्नुपर्छ भनेर सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षण गराउने र अन्तरक्रियाहरू सम्पन्न गरिसकेको उनको भनाइ छ । “यस विषयमा हामी धेरै चोटी अन्तरक्रिया गर्यौं, सरोकारवालाको ध्यानाकर्षण पनि गरायौं तर यसलाई गम्भीर रूपमा लिएर समस्या समाधानका लागि पहल गर्ने वचन हामीले पाएका छैनौं । अझै पनि हामी भन्छौं, यसको समाधान खोजियोस् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटक भित्र्याउने पूर्वाधार निर्माणसँगै पर्यटकलाई आकर्षण गर्ने अर्को ‘टुरिज्म प्रडक्ट’ विस्थापित हुँदा यसको असर पर्यटनलाई नै पर्ने भएकाले उचित व्यवस्थापनको खाँचो आवश्यक रहेको औंल्याए । उनले पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाइ पनि घट्न सक्ने उनको अनुमान छ । अहिले पोखरामा पर्यटकको बसाइ अवधि औसतमा दुई दिनमात्र छ ।
टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले साहसिक गतिविधिको सहर भनेर चिनिने पोखरामा एक पछि अर्को साहसिक गतिविधि विस्थापित हुने खतरा बढ्दै गएको बताए । “पोखरालाई विश्वमा चिनाउने पदमार्ग पनि मोटरेबल बाटोले विस्थापित गराए, साहसिक पर्यटनका रूपमा रहेका प्याराग्लाइडिङ पनि अब विस्थापित हुने होकी भन्ने शंका बढ्न थाल्यो ।” साहसिक पर्यटकीय गतिविधि कम हुँदा पर्यटकको आकर्षण पोखरामा कम हुने होकी भन्ने चिन्ता बढ्न थालेको उनको भनाइ छ ।
पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । पहिलो पाइलट राजेश बमजन हुन् । सन् २००० देखि व्यावसायिक रूपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका हुन् । अहिले पोखराका ६० कम्पनीमा करिब डेढ अर्बको लगानी छ । करिब २ हजारले रोजगार पाएका दाबी व्यवसायीको छ । यो व्यवसायमा करिब ३ सय ७५ जना पाइलट छन् । प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।