काठमाडौं । चालू आर्थिक वर्ष ०७८/०७९ को अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य बढेर २००९ बिन्दुमा रोकियो । तीव्र उतार चढावबीच यो वर्ष सेयर बजार ३१९८.६ को उच्च बिन्दुबाट घटेर आर्थिक वर्षको अन्तिम कारोबार दिनमा आइपुग्दा २००९ बिन्दुमा सीमित भएको हो ।
११ सय ८९ अंकले गिरावट आएको नेप्से सूचक वर्षको अन्तिम कारोबार दिन बढेर बन्द भएको छ । चालू आर्थिक वर्ष साउनमा उच्च बिन्दु ३१९८.६ बिन्दुबाट घटेको बजार कात्तिकमा पुनः टेवा पाउदै २८०० बिन्दु पुग्न सफल भयो ।
२८ सय बिन्दुबाट ओरालो लागेको बजार पुनः मंसिरमा २४ सयमा झर्यो । पुसमा कबिर ६ सय अंकले बढेर २९ सय ९१ अंकमा निरन्तर ओरालो लाग्दै न्यून बिन्दु १८६२.०६ मा झर्यो । जेठ ७ गते नेप्से सूचक १८०६.६ बिन्दुमा झरेर १८६२.६ बिन्दुमा पुगेर बन्द भएको थियो । सो बिन्दु वर्षको न्यून हो ।
वर्षको अन्तिम कारोबार दिन शुक्रबार बजार बढेर बन्द हुँदा सकारात्मक संकेतका साथ बिदाइ भएको छ ।
२०७८ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण ४४ खर्ब १४ अर्ब रुपैयाँ थियो । साउनमा ४४ खर्बको बजार पुँजीकरण वर्षको अन्तिम दिनसम्म आइपुग्दा ३० खर्बले घटेर १४ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ ।
चालू आर्थिक वर्षको साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो । यो रकम वर्षको सर्वाधिक कारोबार हो । त्यस्तै यो वर्षको न्यून कारोबार रकम ७१ करोड रुपैयाँ हो । नेप्सेमा असार ३ गते न्यून ७१ करोड ९० लाख रुपैयाँको कारोबार भयो । सोही दिनको कारोबार रकम यो वर्षको सबैभन्दा न्यून कारोबार रकम हो ।
साथै, यो वर्ष प्राथमिक निष्कासन (आईपीओ) भर्न डिम्याट खोल्ने ५२ लाख ६० हजार पुगे । त्यस्तै आईपीओ भर्नेको संख्यामा पनि यो वर्ष नै रेकर्ड बन्यो । यो वर्ष निष्कासन भएका आईपीओमा सबैभन्दा बढी २६ लाख आवेदन परेको थियो । आयोजना प्रभावित र सर्वसाधारण लगानीकर्ताका लागि यो वर्ष २१ कम्पनीले आईपीओसमेत निष्कास गरे ।
यो वर्ष साहस ऊर्जा कम्पनी, बुद्धभूमि नेपाल हाइड्रो, न्यादी हाइड्रो, मध्यभोटेकोसी हाइड्रोपावर, सामलिङ हाइड्रोपावर, जाल्पा लघुवित्त, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, ग्रीन भेन्चर्स, बलेफी हाइड्रोपावर, उपकार लघुवित्त, सीवाईसी लघुवित्त, रिभल फल्स पावर, बिन्दवासिनी हाइड्रोपावर, आर्दश लघुवित्त, अपर सोलु हाइड्रो, अपर हेवाखोला, हिमालयन हाइड्रोपावर र राप्ती हाइड्रोवार कम्पनीले आईपीओ निष्कासन गरेका छन् । निष्कासन गर्ने २१ कम्पनीमध्ये १७ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भइसकेको छ । त्यस्तै दुई कम्पनीले आईपीओ बाँडफाँट गरे भने दुई कम्पनीको भएको छैन ।
राप्ती हाड्रोपावरको आईपीओ बिक्री खुला गरेको छ ।
चालू आर्थिक वर्ष नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सेयर प्रकरणमा मुछिए । उनी बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर प्रकरण विवादमा तानिएपछि सेयर बजार तात्योे । नियामक निकायको प्रमुख व्यक्ति नै कानुनविपरीत सेयरको भित्री कारोबार गरेको भन्दै बजार तातिन पुगेको हो ।
२०७८ असोज १९ गते मंगलबार मन्त्रिपरिषद्को बैंठकले ढुंगानालाई बर्खास्त गर्यो । उनको बर्खास्तीपछि बोर्ड अध्यक्षमा रमेशकुमार हमाल भित्रिएका छन् । सोही सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा ढुंगानासँगै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद पनि मुछिएका थिए ।
साउदको कार्यकाल सकिन एक महिना बाँकी थियो । साउद सेयर प्रकरणमा मुछिएपछि कार्यकाल एक महिना बाँकी हुँदै राजीनामा दिए ।
साउदको कार्यकाल सकिन लागेकाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सीईओ बनाउन पर्खिरहेको थियो । सोही प्रकरणमा धितोपत्र बोर्डका सञ्चालक चन्द्रप्रसाद ढकाल पनि मुछिएका थिए । ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि राजीनाम दिएका थिए । हाल ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छन् ।
साउदले राजीनामा दिएपछि नेप्सेका सीईओमा कृष्णबहादुर कार्की र धितोपत्र बोर्डको सञ्चालकमा अन्जन क्षेष्ठ नियुक्त भए । यो वर्ष बजार निरन्तर घट्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयरधितो कर्जा सीमा ४÷१२ करोड रुपैयाँको नीति विरोध सुरु भयो । एकातिर राजनीतिक अस्थिरता अर्कोतिर ब्याजदर बढ्दै जान थालेपछि त्यसको प्रभाव सेयर बजारमा देखियो ।
राष्ट्र बैंकका पूर्वगर्भनरदेखि केही ठूला लगानीकर्ता सेयर बजार ४/१२ को नीति प्रभाव पारेको भन्न थाले । बजारमा लगानीयोग्य रकम (तरलता) समस्या जारी रह्यो ।
बजार निरन्तर घट्दै जान थालेपछि लगानीकर्ता केही संगठनले धितोपत्र बोर्डमा लगानीकर्ताको १९ बुँदे मागसहित अनसन बसे । उनीहरु यसअघि बैंक वित्त संस्थाबाट सेयरधितो कर्जालाई एक वित्त कम्पनीबाट ४ करोड र अन्यबाट गरी जम्मा १२ करोड रुपैयाँ नीति हटाउन भन्दै अनसन बसे ।
लगानीकर्ताको १९ बुँदे आन्दोलन लगायतका विषयले सेयर बजारमा चर्चा भइरह्यो । धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्ने भन्दै सहमतिपछि लगानीकर्ताले अनसन तोडे ।
साथै सरकारले ०७९०८० को बजेटमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने, उत्पादनमूलक कम्पनीलाई पुँजी बजारमा भित्राउने, एनआरएनलाई आईपीओमा कोटा छुट्याउने, ५ अर्ब बढी कारोबार गर्ने र १ अर्ब रुपैयाँ बढी चुक्ता पुँजी भएका पब्लिक कम्पनीले आईपीओ निष्कासन गर्नुपर्ने उल्लेख छ ।