काठमाडौं । नागरिक लगानी कोषले साउन १ गते आइतबारदेखि लागू हुने सहभागीहरुलाई ब्याजदर परिवर्तन गरेको छ ।
कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको जनाएको छ ।
त्यसैगरीसाउन १ गते आइतबारदेखि लागू हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
कोषले बिमातर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बिमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षकसहितका राष्ट्र सेवक कर्मचारीहरुको कार्यक्रम सञ्चालनका लागि बिमा शुल्क संकलनको कार्य गर्दै आएको छ ।
राष्ट्र सेवक कर्मचारीहरुबाट आगामी वर्षका लागि आवश्यक पर्ने बिमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बिमा राष्ट्रिय बिमा संस्थानमा गरिदिने कोष जनाएको छ ।