काठमाडौं । विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै ग्लोबल आईएमई बैंकले बेलायतमा बृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बैंकको बेलायतस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनाका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैरआवासीय नेपालीहरुलाई आह्वानसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगो रुपमा नेपालमै वैदेशिक मुद्राको स्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकहरुको दाँजोमा नेपालमा लगानीकोे सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको बताए ।
‘हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका छौं र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका ७ वटै प्रदेशमा निर्माण गर्न गइरहेका छौं । गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा लमजुङ जिल्लामा निर्माण भएको जलविद्युत आयोजना सम्पन्न हुने क्रममा रहेको छ भने म्याग्दी जिल्लाको कालिगण्डकी नदीमा दुईवटा जलविद्युत आयोजना निर्माण गर्दैछौ,’ उनले भने, ‘तपाईंहरुले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।’
नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा संचितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैरआवासीय नेपाली संघ तथा सम्पूर्ण नेपालीलाई ढकाललको आग्रह थियो ।
‘यता विदेशमा बिनाब्याजमा यहाँका बैंकमा राखेको पैसा यदि नेपालका बैंकमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको ब्याजसमेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा छ । भिजा तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा पनि छ,’ उनले भने ।
यस्तै मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताउँदै यसका लागि गैरआवासीयहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिन आग्रह गरे ।
बेलायतस्थित नेपाली राजदुतावासका डिसिएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैरआवासीय नेपालीलाई समेत आग्रह गर्नुभयो ।
डिसिएम खनालले ग्लोबल आइएमई बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रसंशा गर्दै दुताबास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए ।
उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लन्डनन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष गुरुङ, टीएनबी ग्यारिसनका कमान्डिङ अफिसर तोल काम्चालगायतले आफ्ना धारणा राखेका थिए ।