काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने संकेत गरेका छन् ।
सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रबाट दबाब आएपछि अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा गर्ने बताएका हुन् ।
बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवादमा परेका गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यस बेला माओवादी केन्द्रका नेताले गभर्नर अधिकारीको राजीनामाबारे प्रश्न गरेपछि प्रधानमन्त्रीले राजीनामा दिने बताए ।
बिहीबार प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई भेटेका थिए । मुलुकको अर्थतन्त्रका साथै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा जानकारी (ब्रिफिङ) गराउन प्रधानमन्त्री निवास बालुवाटरामा पुगेका गभर्नर अधिकारी र प्रधानमन्त्री देउवाबीच समसामयिक अर्थतन्त्र र मौद्रिक नीतिले चाल्नुपर्ने कदमका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री कार्यालयमा रहुन्जेल प्रधानमन्त्री देउवाले एकपटक पनि एम अधिकारीका बारेमा सोधेनन् ।
केही दिनअघि नेकपा एमालेले आफ्नो अर्थ तथा योजना विभागको सदस्य खोटाङका एम अधिकारी उल्लेख गरेसँगै गभर्नर अधिकारी विवादमा तानिएका छन । उनीमाथि राजीनामा गर्न दबाब बढ्दै गएको छ ।
राष्ट्र बैंक ऐनअनुसार गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरु कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था छ । एम अधिकारी नै गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै सत्तारुढ दलका नेता तथा कार्यकर्ताले सडकदेखि सदनसम्म आवाज उठाइरहेका छन् ।सत्तासीन नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले पनि राजनीतिमा संलग्न गभर्नर अधिकारीको राजीनामा मागेका छन् ।