काठमाडौं । प्रस्तावित ५३६ मेगावाटको सुनकोसी–३ जलाशय आयोजना अघि बढाउने विषयमा अर्को महिना नेपाल र बंगलादेश सचिवस्तरीय वार्ता हुने भएको छ ।
दुई देशका सचिवबीच आगामी अगस्टभित्र वार्ता हुने भए पनि मिति भने तय भएको छैन । ऊर्जा संकट झेलिरहेको बंगलादेशले सुनकोसी–३ मा लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
सचिवस्तरीय वार्तामा आयोजना अघि बढाउने विषयमा छलफल केन्द्रित हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीले बताए ।
बुधबार बंगलादेशले चासो देखाएको सुनकोसी–३ जलविद्युत् आयोजनाको अवलोकन गर्न नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी पुगेका थिए ।
सुनकोसी–२ को तुलनामा सुनकोसी–३ मा सामाजिक इस्यु धेरै कम छ । आयोजना लोडसेन्टर काठमाडौंबाट नजिक भएकाले विद्युत् व्यापारका लागि सहज हुने भएको छ । अध्ययनअनुसार जलाशययुक्त आयोजना बनाउन १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
विद्युत् विकास विभागले गरेको सम्भाव्यता अध्ययनका क्रममा उक्त लागत अनुमान गरिएको हो । सडक पहुँच भएकाले आर्थिक रुपमा सम्भाव्य देखिएको छ । यसमा भारत पनि लगानी गर्न आउने सम्भावना छ ।
यद्यपि आयोजना प्रारम्भिक चरणमा छ । आयोजनाको विस्तृत अध्ययन सकिएको छ । विभागले अध्ययन सकेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेको छ ।
मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै आयोजना निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ ।
आयोजना अध्ययनसँगै पीडित क्षेत्रका बासिन्दासँग सार्वजनिक सुनुवाइमार्फत लिनुपर्ने राय र सुझाव लिइसकिएको छ । आयोजनाको डिजाइन ड्रइङ, भौगर्भिक सर्वेक्षण, टोपोग्राफी सर्वेक्षण, योजनाको लागत अनुमान, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तथा जैविक, आर्थिक सामाजिक स्थितिबारे अध्ययन गरी मस्यौदा प्रतिवेदनलाई अन्तिम रुप दिई अध्ययन प्रतिवेदन तयार गरिएको छ ।
आयोजनाबाट सिन्धुपाल्चोेकका तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकका तीन गाउँपालिका र दुई नगर, रामेछापका दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दामा असर पर्ने छ ।
सरकारले २०७८ भदौ अन्तिम साता सरकारले बंगलादेशलाई लगानीको प्रस्ताव गरेको हो ।
आयोजनाको प्रक्रिया अघि बढाउन गत भदौमै नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले सुनकोसी–३ निर्माण गर्न दिने प्रस्तावसमेत अनुमोदन गरेको थियो ।
बैठकले ६०० मेगावाटको खिम्ती–शिवालय जलविद्युत् आयोजना निर्माणका लागि पनि बंगलादेशलाई प्रस्ताव गरेको थियो । पछिल्लो समय बंगलादेशले नेपालबाट बढी भएको ९ हजार मेगावाट बिजुली किन्ने प्रस्ताव गरेको थियो । यस्तै भारतको जीएमआर अपर कर्णाली हाइड्रोपावरले निर्माण गर्ने भनेको ९०० मेगावाटको माथिल्लो कर्णालीको ५०० मेगावाट बिजुली किन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।
बंगलादेशले प्रतियुनिट ७.७ सेन्ट (करिब ८ रुपैयाँ ७० पैसा) माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने बताइएको छ ।
त्यस बेला नेपालबाट बंगलादेशसँग विद्युत् व्यापार गर्नसमेत आवश्यक तयारीका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको थियो । दुई देशबीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बंगलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको थियो ।
परियोजनाअन्तर्गत सुनकोसी नदीमा काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । आयोजनाअन्तर्गत लुभुघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई १.१ किलोमिटर लामो र ९ मिटर ब्यास भएको सुरुङबाट लुभुघाट नजिक निर्माण गरिने विद्युतगृहमा लगिनेछ भने लगभग ५३६ मेगावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ ।
आयोजना निर्माण गर्दा काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करिब १ हजार ६०० परिवारलाई असर पर्न सक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
काभ्रेपलान्चोकको तेमाल गाउँपालिकाका आठवटा वडामा बाँध, विद्युतगृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्रमा पर्नेछ ।
सन् १९८५ मै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले त्यस क्षेत्रमा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त संस्थाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत् आयोजनामध्ये सुनकोसी–तेस्रो एक हो ।
आयोजना बन्दा माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना देखिएको छ ।
विसं २०७५ चैत महिनामा काठमाडौंमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रशारण लाइनको पनि समस्या छैन ।
प्रस्तावित आयोजना निर्माणस्थल संघीय राजधानी काठमाडौंबाट ६० किलोमिटर दूरीमा पर्छ ।