काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ हरियो भएर बन्द भएको छ । यस दिन नेप्से ७.९३ अंकले बढेर २००९ बिन्दुमा पुगेर बन्द भएको हो ।
भदाै २ गते यो वर्ष उच्च ३१९८.६ बिन्दुमा पुगेको नेप्से इन्डेक्स चालू वर्षको अन्तिम दिन २००९ बिन्दुमा आएर राकिएको छ । वर्षभरि उतारचढाप खेप्दै नेप्से इन्डेक्स साढे ११ सय अंकले ओर्लियो । साढे ११ अंकले ओर्लिएको बजार अन्तिम कारोबार दिनमा भने सकारात्मक संकेतका साथ बिदाइ भएको छ ।
आज बढेर बन्द भएको बजारमा १ अर्ब ४५ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा २ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा २ सय ३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज बैंक वित्तीय संस्थाको ऋणपत्रको भाउ उच्च दरले बढेर कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, माछापुच्छ्रे बैंकको ऋणपत्र, सानिमा बैंकको ऋणपत्र र एनआईसी एसिया बैंकको ऋणपत्रको भाउ करिब १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.३१ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ४.७६ प्रतिशत र हालै आईपीओ निष्कासन गरेको रिभर फल्सको सेयरमूल्य ४.७२ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा अपर तामाकोसीको सर्वाधिक १९ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।