काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले लिएको छ । एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तीकरण, लैंगिक समानता र समुदाय विकासका लागि गरेको योगदानको एक प्रमाण हो ।
यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीइआईस् मिसनअनुरुप रहेको छ जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्छ ।
सम्पूर्ण रुपमा महिला कर्मचारीहरुबाट सञ्चालित एनसेल सेन्टर संचालनमा ल्याइएको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, “काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौं ।
यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशीतालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्छ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्छ ।”
त्यसैगरी एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भनिन्, “यसअघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषहरुको सहभागिता रहने गर्थ्यो । विगत ३–४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरु भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिपेक्षमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।”
महिला कर्मचारीहरुद्वारा सञ्चालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।
यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।
यो एनसेल सेन्टर संचालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विशेष अफर पनि रहेको छ जसअन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । यस सेन्टरबाट गरिने प्रत्येक ५० रूपैयाँको रिचार्ज बराबर ग्राहकले २० रूपैयाँको रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्छन् ।
यसको अर्थ १०० रूपैयाँ रिचार्ज गर्ने ग्राहकले २० रूपैयाँको दुईवटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्छन् । त्यस्तै २०० रूपैयाँ रिचार्ज गर्ने ग्राहकले २० रूपैयाँको चारवटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त पाउँछन् भने ५०० रूपैयाँ रिचार्ज गर्ने ग्राहकले २० रूपैयाँको १० वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्छन् ।
आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिवद्घता अनुरुप, यस पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा सञ्चालित एनसेल सेन्टरले आइतबार देखि शनिबार हप्ताको सातैदिन बिहान ९ः३० बजेदेखि साँझ ६ बजेसम्म ग्राहकहरुलाई सेवा प्रदान गर्छ ।
यसले ग्राहकको सेवा अनुभव थप बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।