काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सिलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ ।
बुधबार लन्डनमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।
युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन् ।
बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।