काठमाडौं । अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा र पछिल्लो समय विवादमा आएका गभर्नर महाप्रसाद अधिकारीबीच बिहीबार भेट भएको छ ।
मुलुकको अर्थतन्त्र र बन्दै गरेको मौद्रिक नीतिका बारेमा ब्रिफिङ गर्न प्रधानमन्त्री निवास बालुवाटरामा पुगेका गभर्नर अधिकारी र प्रधानमन्त्री देउवाबीच समसामयीक अर्थतन्त्र र मौद्रिक नीतिले चाल्नुपर्ने कदमका बारेमा छलफल भएको छ ।
गभर्नर अधिकारी डेपुटी गभर्नरद्धय र केही कार्यकारी निर्देशकहरु सहित बालुवाटार पुगेका थिए । उता राष्ट्र बैंकका टोलीसँग छलफल गर्न प्रधानमन्त्री देउवासहित उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसहित सम्बन्धित मन्त्रालयका सचिव, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीसहितको टोली छलफलमा जुटेको थियो ।
प्रधानमन्त्री कार्यालयमा रहुन्जेल प्रधानमन्त्री देउवाले एक पटक पनि एम अधिकारीका बारेमा कुनै चासो नराखेको स्रोतले जनाएको छ । केही दिनअघि नेकपा एमालेले आफ्नो अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारी उल्लेख गरेसँगै गभर्नर अधिकारी विवादमा तानिएका छन् ।
राष्ट्र बैंक ऐनले गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरु कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । एम अधिकारीनै गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै सत्तारुढ दलका नेता तथा कार्यकर्ताले सडकदेखि सदनसम्म आवाज उठाइरहेको बेला प्रधानमन्त्री देउवाले कुनै चासो नराख्नुलाई अर्थपूर्ण मानिएको छ ।
सत्तासिन नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले राजनीतिमा संलग्न गभर्नर अधिकारीको राजीनामा मागिरहेका छन् । तर, प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भने कुनै जानकारी नै नभएको जस्तो गरी प्रस्तुत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । भेट मौद्रिक नीतिकै बारेमा केन्द्रित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।