काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी वर्षदेखि विदेशमा हुने सेल्स मिसन बन्द गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विदेशमा हुने सेल्स मिसनलाई पूर्णरुपमा बन्द गराई नेपालमै आयोजना गर्न लागिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए । पर्यटन बोर्डले ट्राभल एजेन्सीहरुसँगको मिलेमतोमा विभिन्न मुलुकमा बर्सेनि सेल्स मिसन गर्दै आएको थियो ।
सेल्स मिसनमा विदेश जाँदा निश्चित व्यवसायीहरुबाहेक अरुले फाइदा लिन नपाएको बोर्डको निष्कर्ष छ । सो निष्कर्षसँगै आगामी बजेटदेखि पूर्णरुपमा बन्द गर्ने बोर्डको सञ्चालक समितिमा सहमति समेत भएको रेग्मीले बताए । नेपालबाट बर्सेनि विदेशमा ७० देखि ८० वटा सेल्स मिसनका कार्यक्रम हुँदै आइरहेका थिए भने २५ देखि ३० वटा भारतका विभिन्न सहरमा हुँदै आएका थिए ।
सेल्स मिसनमा नेपालबाट व्यवसायीहरु लैजानुभन्दा विदेशबाट नेपालमै त्यहाँका टुर अपरेटरहरुलाई ल्याएर अन्तरक्रिया गरी धेरैभन्दा धेरै व्यवसायीले नेपालबारे आफ्नो प्याकेजको प्रचार गर्न सक्ने खालका कार्यक्रम बनाउन लागिएको पनि रेग्मीले बताए ।
‘विदेशमा निश्चित टुर अपरेटरलाई लगेर सडकमा नाचेर मात्र नेपालको प्रचार हुँदैन,’ सीईओ रेग्मी भन्छन्, ‘बरु त्यहाँका मान्छेहरुलाई यहाँ ल्याएर प्रत्यक्ष रुपमा अनुभूति गराउने योजना छ ।’
नेपालको प्याकेज बेच्ने पनि विदेशी टुर अपरेटरमार्फत नै हो । विदेशमा जाँदा लाग्ने खर्च नेपालमा गर्ने र धेरैभन्दा धेरैले सेवा लिन सकून भन्ने उद्देश्य बोर्डको रहेको छ । यस्तै सोहीअनुसारको बजेट निर्माण गरिरहेको पनि सीईओ रेग्मीले जानकारी दिए ।
मेला महोत्सवमा दिने खर्च कटौती
पर्यटन बोर्डले यसअघि देशका विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सवका लागि दिँदै आएको खर्चमा पनि कटौती गरेको छ । पर्यटन प्रचारको नाउँमा त्यस्ता मेला महोत्सवमा खर्च गर्दा प्रभावकारी नभएको भन्दै बोर्डले विगतका वर्षदेखि नै खर्च कटाउँदै आएको छ ।
बोर्डको सीईओका रुपमा रेग्मी आएदेखि सो रकम कटौती गरेका थिए । तर, बीचमा कोभिड संक्रमण फैलिएसँगै मेला महोत्सव बन्द भए । अहिले फेरि अवस्था सामान्य भए पनि बोर्डले भने त्यस्ता कार्यक्रमका लागि कुनै बजेट नदिने निर्णय गरेको सीईओ रेग्मीले क्यापिटललाई बताए ।
बोर्डले मेला महोत्सवको सट्टा विभिन्न ठाउँमा बीटुबीमार्फत सेल्स मार्टहरुको आयोजना गर्न बजेट विनियोजन गर्ने भएको छ । प्रभावकारी रुपमा त्यस्ता क्षेत्रको प्रचारमा सहयोग पुर्याउन स्थानीयस्तरका व्यवसायीसँगको सहकार्यमा सेल्स मार्ट आयोजना गर्न लागिएको हो ।
नयाँ मन्त्री आएसँगै मन्त्रालयसँगको विवाद सकियो
पर्यटनमन्त्रीका रुपमा प्रेम आले आएसँगै बोर्डका सीईओ डा. रेग्मीबीच विवाद चर्किएको थियो । जसकारण विगतका ८ महिना मन्त्रालय र बोर्डबीच कुनै समन्वय नै हुन सकेको थिए । मन्त्री आले बोर्डका केही पदाधिकारीलाई प्रयोग गरेर जसरी पनि सीईओ रेग्मीलाई हटाउने प्रपञ्चमा थिए ।
यद्यपि सफल हुन सकेनन् । अन्ततः मन्त्री आले नै सरकारबाट बिदा भए । अहिले पर्यटन मन्त्रीका रुपमा जीवनराम श्रेष्ठ आएपछि भने सम्बन्धमा सुधार आएको छ । मन्त्री श्रेष्ठले सीईओ रेग्मीलाई ढुक्क भएर काम गर्नका लागि निर्देशन दिइसकेका छन् ।
‘मन्त्रीज्यूले आफ्नो भिजनअनुसार काम गरेर अघि बढ्न निर्देशन दिनुभएको छ,’ बोर्डका सीईओ रेग्मीले भने, ‘अब मन्त्रालयसँग कुनै समस्या छैन । बोर्डले नयाँ गतिका साथ काम गर्छ ।’
अहिले आफ्नो भिजनअनुसारको बजेट निर्माण गरी काम गर्न थालेको बताउँदै सीईओ रेग्मीले बाँकी डेढ वर्षे कार्यकाल उपलब्धिमूलक बनाउने बताए । साथै यो वर्षको बजेट ६० देखि ७० करोडहाराहारी रहने गरी बनाउने बोर्डको तयारी भएको पनि उनले सुनाए ।