काठमाडौं । भारत सरकारले गहुँ, चिनी वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित औपचारिक भेटवार्तामा कार्यक्रमा श्रीवास्तवले सो कुरा बताएका हुन् ।
‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छ,’ राजदूत श्रीवास्तवले भने, ‘तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ ।’
हामी दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं, उनले भने । कार्यक्रमा नेपाल उद्योग वाणिज्य कहमसंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न बताएका थिए ।
गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए ।
उनले नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए ।
लामो समयदेखि मीरगंज पुल बन्न नसकेको ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गरे । त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताए ।
गैरभन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिबुटी निर्यातमा समस्या देखिएको छ । यसैगरि तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उहाले आग्रह गरे।
‘सडक, रेल, हवाई र साथै डिजिटल कनेन्टीभीटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन भारत सरकार तयार छ,’ उनले भने, ‘ल्याव टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना भएको, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरि काम भइरहेको छ ।’
उनले अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्री समक्ष अनुरोध गरेको पनि बताए । साथै यसमा महासंघकातर्फबाट पनि नेपाल सरकारमा प्रयास हुन सुझाव दिए ।
गैरभन्सार अवरोधका सम्बन्धमा महासंघले राखेका गुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफूले समाधान गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल-भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गर्नु भएपश्चात राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता गरे ।
महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको उपस्थिति रहेको उक्त भेटवार्तामा उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद व्यक्त गरे ।