काठमाडौं । राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरेसँगै बितेको ११ महिनामा सेयर कर्जामा साना ऋणीहरुको पहुँच बढेको छ भने ठूला ऋणीहरुको प्रभाव विस्तारै कम हुँदै गएको छ ।
चालू आवको ११ महिनामा कुल सेयर करिब १८ अर्ब ६० करोडले घटेपछि साना लगानीकर्ताको हिस्सा भने औसतमा १५ प्रतिशतले बढेको छ ।
अन्य सबै क्षेत्रको कर्जा बढेका बेला सेयर कर्जा भने घटेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ एकल ग्राहक कर्जा सीमा तोकेको थियो ।
एकल ग्राहक सीमा कर्जाको सबैभन्दा ठूलो असर ठूला सेयर ऋणीहरुमा परेको छ । ५० लाखभन्दा माथिको सेयर ऋण घट्दा ५० लाखभन्दा कमका ऋण भने बढेको छ ।
गत असारमा १ खर्ब ६ अर्ब २८ करोड ३९ लाख कुल मार्जिन प्रकृतिका सेयर ऋण रहेकामा जेठमा आइपुग्दा १७.६ प्रतिशतले घटेर ८७ अर्ब ५८ करोड ८६ लाखमा सीमित भएको छ । अघिल्लो वर्षको ११ महिनामा यस्तो कर्जा ८७.६ प्रतिशतले बढेको थियो ।
कोरोना कालमा ह्वात्तै बढेको सेयर कर्जालाई केन्द्रीय बैंकले चालू मौद्रिक नीतिमार्फत कडाइ गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा ५० अर्ब ४० करोड ९७ लाख रहेको सेयर ऋण ०७६/०७७ मा बढेर ९४ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ पुगेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू आवको ११ महिना अर्थात् जेठसम्म १ करोडभन्दा माथिको कर्जा २१ अर्ब १ करोड ६६ लाख रुपैयाँले घटेर ५२ अर्ब ५१ करोड ९२ लाखमा खुम्चिएको छ । जुन गत असारको तुलनामा २८.६ प्रतिशत कम हो । गत असारमा १ करोडमाथिको कर्जा ७३ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ थियो ।
त्यस्तै ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा पनि यस अवधिमा ७ प्रतिशतले घटेको छ । गत असारमा १२ अर्ब १ करोड ६० लाख रुपैयाँ रहेको ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा ८३ करोड ५५ लाखले घटेर ११ अर्ब १८ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । तर, ५० लाख रुपैयाँभन्दा कमको सेयर ऋण भने बढेको छ ।
सबैभन्दा बढी २५ लाख रुपैयाँभन्दा कमको ऋण सबै धेरै बढेको छ । गत असारमा ७ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ रहेको २५ लाखभन्दा साना ऋण १६.८ प्रतिशतले बढेर ८ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी २५ देखि ५० लाख रुपैयाँको ऋण पनि १४.३ प्रतिशतले बढेको छ ।
गत असारमा १३ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ रहेको २५ देखि ५० लाखसम्मको सेयर ऋण जेठमा आइपुग्दा १५ अर्ब २७ करोड ६ लाख रहेको छ ।
चालू वर्षको मौद्रिक नीतिमा ४/१२ नीति आएपछि सेयर बजारलाई प्रभावित बनाउँदै आइएको छ । गत भदौ २ गते ३२२६ सम्म पुर्याइएको नेपाल स्टक एक्सचेन्जलाई ४/१२ को त्रास देखाएर निरन्तर घटाउँदै असार १० गते न्यून बिन्दु १८०६ सम्म झारेको थियो । त्यसपछि सम्हालिन खोजेको बजार बुधबार भने १९८६.८२ अंकमा रोकिएको छ । ४/१२ को नीतिको विरोध गर्दै लगानीकर्ताहरुले आमरण अनशनसम्म गरेका थिए ।
तर, गभर्नर महाप्रसाद अधिकारीले तल्लो तहसम्म सेयरको पहुँच नपुगेकाले साना कर्जामा खुकुलो नीति लिइएको बताउँदै आएका छन् ।
ठूला ऋणीहरुको ट्र्याकमा पर्दा बजार जतिखेर पनि प्रभावित हुन सक्ने र साना लगानीकर्ता मारमा पर्ने बुझाइ गभर्नरको छ । ४/१२ को नीति खारेज गराउन सडकदेखि सदनसम्म आवाज उठे पनि गभर्नर अधिकारी भने टसको मस नभई चालू आर्थिक वर्ष सकिनै लागेको छ । ठूला ऋणीहरुको दबाब सेयर बजारमा पनि बिस्तारै कम हुँदै गएको अनुमान गर्न थालिएको छ ।
सेयर कर्जामा साना ऋणीको पहुँच वृद्धि भएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा पर्ने देखिन्छ । यद्यपि, विश्वव्यापी रुपमा भने बैंकहरुले सेयर धितो राखेर कारोबार गर्न ऋण दिँदैनन् । त्यसका लागि ब्रोकरमार्फत मार्जिन कारोबार व्यवस्था गरिएको हुन्छ । त्यस्तो हुँदा केन्द्रीय बैंकको नीतिले लगानीकर्तालाई खासै ठूलो दबाब पर्दैन ।