काठमाडाैं । संसद् र सडकमा समेत कारबाही गर्नुपर्ने आवाज उठिरहँदासमेत नेकपा एमालेले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भए/नभएको प्रस्ट्याउन सकेको छैन ।
गभर्नर अधिकारीले आफू एम अधिकारी नभएको बताइसकेका छन् । तैपनि नेकपा एमालेले अहिलेसम्म आधिकारिक रुपमा एम अधिकारी को हुन् भनेर प्रमाण सार्वजनिक गरेकाे छैन । क्यापिटल नेपालले एम अधिकारीको फोटो र उनको नम्बर माग गर्दा अर्थ तथा योजना विभागले उपलब्ध गराउन चाहेन ।
कार्यालय सचिव भीष्म अधिकारीसँग बुझ्दा 'एम अधिकारी भनेका गर्भनर होइनन्, गभर्नर पार्टीमा बस्न पनि मिल्दैन । तपाईं ढुक्क हुनुहोस् । यदि एमको नम्बर चाहिए विभाग प्रमुख घनश्याम भुसाललाई सम्पर्क गर्नुस्' भने ।
त्यसका अलवा क्यापिटल नेपालले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग सम्पर्क गर्दा एम अधिकारी भनेका गभर्नर महाप्रसाद अधिकारी नभएको बताए । ‘एम भनेको महाप्रसाद होजस्तो लाग्दैन,’ पौडेलले भने, ‘आधिकारिक बुझ्न प्रमुख भुसाललाई सोध्नुहाेला ।'
एमाले नेता योगेश भट्टराइले पनि एम अधिकारी महाप्रसाद नभएको दाबी गरे । तर, कुनै पनि नेताले एम अधिकारीको फोटो तथा उनको नम्बर दिन चाहिरहेका छैनन् । यसले थप शंका उत्पन्न भएको छ ।
क्यापिटल नेपालसँग कुरा गर्दै अधिकारीले आफू एम नभएकाे र कुनै पनि पार्टीकाे सदस्यसमेत नरहेकाे दाबी गरे । 'अहिले चलेका सबै हल्ला हुन् । मैले आफ्नाे पदीय मर्यादा राम्राेसँग बुझेकाे छु,' अधिकारीले भने ।
सामाजिक सञ्जालमा एम अधिकारी उनै महाप्रसाद अधिकारी नै हुन् भन्दै भएको आलोचनाबारे एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शेरबहादुर तामाङले एम अधिकारी नाम गरेका अरू नै कार्यकर्ता भएको बताए ।
‘एम नाम गरेका एमाले कार्यकर्ता धेरै छन् । एम भन्नेबित्तिकै महाप्रसाद भनेर गरिएको प्रचार गलत छ,’ तामाङले भने ।