काठमाडौं । चालू आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माण गर्न छुट्याइएको बजेट एक रुपैयाँ पनि खर्च नभई फिर्ता भएको छ । आर्थिक वर्ष २०७८/७९ मा बाहिरी चक्रपथ निर्माणका लागि चालूतर्फ १ करोड ३६ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।
जसमध्ये पुँजीगत अर्थात् निर्माणका लागि ३५ लाख ५० हजार रुपैयाँ रहेको आयोजनाले जनाएको छ । ३५ लाख ५० हजार रुपैयाँमध्ये पनि बाहिरी चक्रपथ निर्माणको क्षेत्रमा ३० लाख रुपैयाँ मात्रै खर्च गर्न मिल्ने रहेको थियो भने ५ लाख ५० हजार रुपैयाँ फर्निचर, फ्रिज, औजार मर्मत शीर्षकमा खर्च हुने प्राधिकरणले जनाएको छ ।
तर, चक्रपथ निर्माण शीर्षकमा आएको ३० लाख रुपैयाँ खर्च नभई पूर्ण रुपले फिर्ता भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता नारायणप्रसाद भण्डारी बताउँछन् । उनका अनुसार बाहिरी चक्रपथको निर्माण कार्य अनिश्चित हुँदा निर्माण क्षेत्रको रकम खर्च हुन नसकेको हो ।
बाहिरी चक्रपथ निर्माण क्षेत्रमा विभिन्न तहका १३ जना इन्जिनियर तथा कर्मचारी छन् । उनीहरूलाई चालू आर्थिक वर्षमा ९९ लाख ८७ हजार रुपैयाँ तलब निकासा भएको छ । त्यसबाहेक बाँकी रहेको रकम पनि कर्मचारीका लागि तालिम तथा भत्ताको नाममा वितरण हुन्छ । तर, १३ जना कर्मचारी राखेको आयोजनाले वर्षभरिमा उपलब्धिमूलक काम गर्न सकेको छैन ।
चालू आर्थिक वर्षमा बाहिरी चक्रपथ विकासतर्फको रकम खर्च गर्न नसकेको प्राधिकरणलाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट भने बढेर आएको छ । चालू आवको तुलनामा आगामी आर्थिक वर्ष बजेट बढे पनि कति रकम बढेको विषयमा एकिन नभएको प्रवक्ता भण्डारीले बताए ।
४२ अर्बको आयोजनामा ३० लाख बजेट कम हुनुका साथै बाहिरी चक्रपथको विषय नै अन्योलमा पर्दा खर्च नभएको प्रवक्ता भण्डारी बताउँछन् । स्तावित बाहिरी चक्रपथको लम्बाइ ७२ किलोमिटर रहेको छ ।
जसमध्ये २०६५ सालमा ५४ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । उक्त डीपीआरअनुसार ४२ अर्ब २७ करोड ७१ लाख ५३ हजार ३५८.६४ रुपैयाँ लागत लाग्नेछ ।
साथै यसअघि असार १० गते विकास तथा प्रविधि समितिले उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथको क्षेत्रमा लामो समयसम्म उल्लेख्य प्रगति गर्न नसकेको भन्दै १५ दिनभित्र कारण पेस गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार प्राधिकरणले बाहिरी चक्रपथको क्षेत्रमा काम हुन नसक्नुको कारण समितिलाई पेस गरेको जनाएको छ ।
डीपीआर परिवर्तन गर्नुपर्ने
डीपीआर तयार गर्दाको समयभन्दा अहिले कानुनी र भौतिक अवस्था परिवर्तन भएको भण्डारीको भनाइ छ । ‘जति बेला डीपीआर बन्यो त्योभन्दा अहिले केही भौतिक संरचनाहरू थप भएका छन् । मापदण्ड पनि परिवर्तन गर्नुपर्छ भनेका छौं’, उनले भने ।
बाहिरी चक्रपथको डीपीआर पुरानो भएको भन्दै केही समय अघिदेखि परिमार्जन गर्नुपर्ने कुरा सहरी विकास मन्त्रालयमा उठिरहेको थियो । प्राधिकरणले पनि डीपीआर पुरानो भएकाले संशोधान गर्नुपर्ने जनाएको छ ।
२०६५ सालमा डीपीआर बन्दा ४ मिटरको बाटो बनाउन पाउने व्यवस्था रहे पनि हाल ६ मिटरभन्दा कमको बाटो बनाउन नपाउने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै मापदण्डमा परिवर्तन भएका कुराहरू डीपीआरमा समावेश गर्नुपर्ने बताइएको छ । डीपीआर संशोधन नहुँदा निर्माण कार्यमा बाधापरेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले उपत्यकाभित्र ४ वटा नयाँ सहर विकास गर्ने, काठमाडौं उपत्यकाको बृहत् गुरुयोजना तयार गर्ने, बाहिरी चक्रपथ निर्माण गर्र्ने, उपत्यका भित्रको सार्वजनिक जग्गा संरक्षण, उपत्यका विपद् व्यवस्थापन पार्क निर्माणलगायतका काम गर्नुपर्ने हुन्छ ।
तर, हालसम्म धोबी खोला कोरिडोर सुधारको काम अन्तिम चरणमा पुर्याउनबाहेक अन्य काम उपलब्धि गरेको छैन । जसका कारण प्राधिकरणले जिम्मेवारीअनुसार काम गर्न नसक्नुको कारण पेस गर्न प्रविधि समितिले निर्देशन दिएको थियो ।
यसअघि समितिले २०७६ साल जेठ ५ गते पनि सहरी विकास मन्त्रालयलाई प्राधिकरणले बाहिरी चक्रपथ निर्माण गर्न आवश्यक जग्गा अधिग्रहण गरेर काम अगाडि बढाउन निर्देशन दिएको थियो । यद्यपि समितिको निर्देशनअनुसार सहरी विकास मन्त्रालयअन्तर्गतको प्राधिकरणले काम गर्न सकेको छैन ।
प्राधिकरणका लागि चालू आर्थिक वर्षमा ९ करोड ९४ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । तर, असार २६ गतेसम्म ७० प्रतिशत मात्रै रकम खर्च भएको प्राधिकरणका प्रवक्त नारायाणप्रसाद भण्डारी बताउँछन् । आगामी आर्थिक वर्षका लागि २०७९/८० प्राधिकरणलाई १० करोड ३५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।