काठमाडौं । विकास निर्माण क्षेत्रमा मात्र होइन, होटल तथा रिसोर्टमा पनि असार मसान्तको चटारो देखिन थालेको छ । वर्षभरि नगरेका/नभ्याइएका सेमिनार र गोष्ठी गर्न अहिले विभिन्न विकासे मन्त्रालयसहित परियोजनालाई भ्याइनभ्याइ हुन थालेको छ ।
यही कारण काठमाडौंसहित बाहिरी जिल्लाका होटलका हल र बैंक्वटहरु भरिभराउ भएका हुन् । तर, होटलका कोठाहरु अधिकांश खाली छन् ।
होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव साजन शाक्यका अनुसार विगतका महिनाको तुलनामा अहिले होटलको अकुपेन्सी घटेको छ । ‘असार– साउन पर्यटकका लागि अफ सिजन भएकाले पनि होटलका कोठाहरु खाली भएका हुन्,’ महासचिव शाक्यले भने, ‘तर होटलका हल र बैंक्वट हलहरु भने असार लागेदेखि नै भरिएका छन् ।’
सामान्यतयाः विवाह र पार्टीमा भरिभराउ हुने ती हलहरु असार लागेसँगै मन्त्रालय र परियोजनाको कार्यक्रमले गर्दा भरिएको व्यवसायीहरुको भनाइ छ ।
यतिखेर काठमाडौंका तारे होटलहरुको अकुपेन्सी खुम्चिएको छ । विगतका महिनामा ६० देखि ७० प्रतिशतसम्म अकुपेन्सी हुने गरेकामा हाल ३० देखि ४० को हाराहारीमा रहेको शाक्य बताउँछन् । संख्यात्मक रुपमा हेर्दा जुन महिनामा उल्लेख्य पर्यटक आएका देखिन्छ ।
नेपाल पर्यटन बोर्डले दिएको तथ्यांकअनुसार सो महिनामा ४६ हजार ९ सय ५७ जना पर्यटक नेपाल आएका छन् । जसमा भारतबाट मात्रै २३ हजार २ सय ४८ पर्यटक आएका हुन् । सन् २०२२ को जनवरीयता ६ महिनामा २ लाख ३७ हजार ६ सय ९६ जना पर्यटक नेपाल भित्रिएका बोर्डले जानकारी दिएको छ ।
बोर्डले दिएको तथ्यांकलाई आधार मान्दा आगामी अक्टोबर र सेप्टेम्बरमा पर्यटकको संख्या अझै बढ्न सक्ने अनुमान व्यवसायीहरुको छ । यस वर्षको ६ महिनाको तुलनालाई हेर्दा अबको ३ महिना नेपाली होटल व्यवसायीलाई सहज हुने देखिएको हानका महासचिव शाक्यको भनाइ छ । ‘हामीले अक्टोबर र नोभेम्बरमा मात्र २ देखि ३ लाख पर्यटकहरु आउने अपेक्षा लिएका छौं,’ उनले भने ।
नेपालमा भारतीय पर्यटकहरुको संख्या बढेको छ । संख्या बढेसँगै उपत्यकाभित्र र बाहिरका होटलहरु केही चलायमान भएको व्यवसायी बताउँछन् । एकातिर ठूला होटलहरु खाली छन् भने अर्कोतिर उपत्यकाभित्रका साना तथा मझौला होटलमा भने चहलपहल रहेको व्यवसायीले बताए ।
सडकमार्ग हुँदै आउने भारतीय पर्यटकहरुले गौशाला, सुन्धारा र ठमेललगायत क्षेत्रका साना तथा मझौला होटलमा चहलपहल बढेको माउन्ट भ्यू होटल कोटेश्वरका सञ्चालक नवीन तामाङले जानकारी दिए ।
यस्तै पोखरा र सौराहा क्षेत्रमा पनि भारतीय पर्यटकहरु नै बढी पुगका त्यहाँका व्यवसायीहरुको भनाइ छ । होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेलले आफ्नै साधन लिएर आउने भारतीय पर्यटकको संख्या उल्लेख्य रहेको बताए ।
यति बेला भारतमा अत्यधिक गर्मी भएको र सो गर्मी छल्न पोखरा र सौराहालगायतका ठाउँमा पर्यटक आउने गरेका हुन् ।
क्यासिनो र स्विमिङ खेलेर फर्किनेहरु बढे
सिद्धार्थ होटल एसोसिएसन (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भैरहवामा भारतीय पर्यटकको संख्या बढे पनि रात बस्नेहरु कम भएको बताए । ‘क्यासिनो खेल्ने र दिउँसो आएर स्वीमिङ गरेर फर्कनेहरुको संख्या भने बढेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तेस्रो मुलुक र रात्रिकालीन बसाइका लागि आउनेको संख्यामा कमी आएको छ ।’
त्यस्ता पर्यटकहरुले होटललाई भन्दा स्वीमिङ पुल र रेस्टुँरालाई बढी फाइदा पुगेको उनले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अहिले नै अपेक्षाअनुसार पर्यटक आइनपुगेको उनको भनाइ छ ।