काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको प्रभाव प्रत्यक्ष रुपमा घरजग्गा व्यवसाय परिरहेको छ । यसअघि घरजग्गा खरिदका लागि बैंक तथा वित्तीय क्षेत्रले गर्दै आएको लगानी बन्द गरेपछि खरिदकर्ताहरुले धमाधम बैना फिर्ता लिन थालेका छन् ।
घरजग्गा खरिद गर्न पहिले बैंकले ५० प्रतिशतसम्म लगानी गर्थे । त्यसकै आसमा धेरैले बैना पनि गरेका थिए । तर, केही महिनादेखि बैंकले लगानी गर्न रोकेपछि बैना फिर्ता माग्नेहरुको संख्या बढेको जग्गा बिक्रेताहरु बताउँछन् ।
घरजग्ग्गासम्बन्धी विज्ञापनसँगै बिक्रीवितरणको कामसमेत गर्दै आएको इप्रोपर्टी नेपाल डटकमका प्रबन्ध निर्देशक सन्दीप अधिकारीले बैंक तथा वित्तीय क्षेत्रबाट फाइनान्सको आस गरेर बैना गरेकाहरुले धमाधम फिर्ता माग्न थालेको बताए ।
तीन महिनाअघि जसोतसो बैना गरेकाहरुले लगानी कतैबाट नपाएपछि बाध्य भएर रकम फिर्ता माग्न थालेको उनको भनाइ छ । यसबाट जग्गा खरिदकर्तासहित बिक्रेताहरु पनि समस्यामा परेको उनले बताए ।
‘जग्गा किन्नेभन्दा बेच्न आउने बढी छन्,’ निर्देशक अधिकारले भने ।
यस्तै अर्का घरजग्गा व्यवसायी केशव काफ्लेका अनुसार अधिकाशं टुक्रा घडेरी खरिदकर्ताले बैंकबाट आधा लोन लिएर किन्छन् । तर, बैंकले अहिले लोन दिन छोडेपछि यसअघि गरिएको बैना फिर्ता माग्नेहरु बढेका छन् ।
‘बरु निश्चित रकम तपाईंहरु नै राख्नुस् तर हाम्रो पैसा फिर्ता गर्नुस्,’ काफ्लेले भने, ‘बाँकी दिन नसकिने अवस्थामा पुग्यौं भन्दै खरिदकर्ताहरु आउनुहुन्छ ।’
यस्ता समस्या काफ्लेकहाँ मात्रै आएका भने होइनन् । उनीजस्ता धेरै व्यवसायीले यो समस्या झेल्नुपरेको छ । यसबाट दुवै क्षेत्र उत्तिकै प्रभावित छन् ।
नेपाल जग्गा तथा आवास समितिका अध्यक्ष इच्छाबहादुर वाग्लेले आर्थिक मन्दीको असर घरजग्गा क्षेत्रमा देखापरेको बताए । बैंकले लगानी नगर्ने र व्यक्तिसँग अलिअलि भएको पैसा पनि लगानी गर्न डराइरहेकाले समस्या सिर्जना गरेको उनको भनाइ छ ।
वाग्लेको भनाइअनुसार अहिलेको सबैभन्दा ठूलो समस्या भनेको सरकारले विभिन्न समयमा ल्याउने घरजग्गाको अनियन्त्रित नीति हो । साथै वर्गीकरणको विषयले पनि खरिदकर्तामा अन्योल सिर्जना गरिदिएको छ ।
‘वर्गीकरणले जग्गाको कित्ताकाटमा समस्या र बिक्रीवितरणमा प्रभाव परेको छ,’ वाग्ले भन्छन्, ‘हाउजिङका पुराना परियोजनालाई लगानी दिए पनि नयाँ परियोजना समस्यामा परे ।’
घरजग्गा नेपाल डटकमका प्रमुख कार्यकारी अधिकृत अर्जुन छतकुलीले टुक्रा जग्गाहरु छिटफुट बिक्रीवितरण भए पनि घरमा किनबेचमा समस्या आएको बताए । ‘करोडमुनिका घर नपाउने र त्यसमाथिका किन्न बैंककै भर पर्नुपर्ने अवस्थाले ग्राहकहरु समस्यामा परेका छन्,’ उनले सुनाए ।
उनका अनुसार घर किन्ने ग्राहक भए पनि लगानी रोकिएकाले केही समययता कारोबारमा मन्दी आएको छ । घरको मूल्यसमेत अकासिएकाले किन्नेहरुको संख्या पनि कमी आएको छ ।