वालिङ । स्याङ्जामा १० वटा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालनमा छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी ब्लकमा समावेश गरिएका बाली/वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, ब्लक क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास तथा व्यावसायीकरण प्रवद्र्धन गर्ने उद्देश्यले ब्लक सञ्चालनमा ल्याएको हो ।
ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत ईश्वरीप्रसाद अर्यालले ‘ब्लक’ विकास कार्यक्रमअन्तर्गत स्याङ्जामा मौरी, तरकारी, फलफूल, धान र मसलाबालीमा ब्लक सञ्चालनमा रहेको बताए । मौरी ब्लकमा तीन, तरकारी र सुन्तलामा दुई/दुई ब्लग कागती, धान र मसलाबाली ब्लकमा एक/एक रहेका छन् ।
मौरी ब्लक विकास कार्यक्रम पुतलीबजार नगरपालिका–९ को कोल्मा, ६ को टक्सार र भीरकोट नगरपालिकाका ३, ५, ७ र ८ नम्बर वडामा सञ्चालनमा छ । तरकारी ब्लक फेदीखोला गाउँपालिकाका १, २, ३, ४ नं. वडा तथा वालिङ नगरपालिकाका १ र ५ नं वडामा सञ्चालनमा रहेको सूचना अधिकारी अर्यालले जानकारी दिए ।
आँधीखोला गाउँपालिका २, ६ तथा वालिङ नगरपालिका २, ५ मा सुन्तला ‘ब्लक’ निर्धारण गरी कार्यक्रम सञ्चालनमा रहेको छ । बिरुवा गाउँपालिका ६ मा कागती, पुतलीबजार नगरपालिका १३ मा धान, हरिनास गाउँपालिका २, ४ मा मसलाबालीअन्तर्गत अदुवा ब्लक विकास कार्यक्रम सञ्चालनमा रहेको छ ।
‘बाली/वस्तु उत्पादनमा काम गरिरहेका समूह सहकारीले दिएको आवेदनका आधारमा कार्यविधिअनुसार छनोट गर्छौं,’ उनले भने, ‘स्याङ्जामा हाल ६ वटा बाली तथा वस्तुका १० ब्लक सञ्चालनमा छन् ।
एउटा ब्लकमा दुई वर्षसम्म कार्यक्रम सञ्चालन हुनेछ । पहिलो वर्ष ज्ञान केन्द्रले २४ लाख र दोस्रो वर्ष १३ लाख रुपैयाँ ब्लक विकास कार्यक्रमका लागि अनुदान उपलब्ध गराउँछ । सो क्षेत्रमा रासायनिक तथा प्राङ्गारिक मल, उन्नत तथा हाइब्रिड बीउबिजन, रासायनिक एवं जैविक विषादीलगायत उत्पादन सामग्रीमा अनुदान सहयोग उपलब्ध गराइने उनले बताए ।
बाली तथा वस्तुको उत्पादनमा वृद्धि गर्नका लागि क्षेत्रफल, कृषक समूह, लाभान्वित संख्यासहितलाई आधार मानेर पकेट, ब्लक, जोन र सुपरजोन निर्धारण गरी सञ्चालनमा रहेका छन् ।