काडमाडौं । राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाबाट विद्युत् उत्पादन हुने समय अनिश्चित बनेको छ । यसअघि चालू आर्थिक वर्षको अन्त्यसम्म बत्ती बल्ने बताइएको थियो । तर, इलेक्ट्रिक र मेकानिकल काम नसकिँदा विद्युत् उत्पादन हुने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ ।
निर्माणकार्य सम्पन्न नभएपछि विद्युतगृह निर्माणको म्यादसमेत थप्नुपर्ने भएको छ । आगामी साउन २६ गतेसम्म विद्युतगृह निर्माणको म्याद रहे पनि सो समयमा काम सम्पन्न नहुने भएपछि ३ महिना म्याद थप्ने तयारी भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) विराट ज्ञवाली बताउँछन् ।
रानीजमरा सिँचाइको आयोजना भए पनि ५ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी छ । तर, विद्युत् क्षेत्रमा अन्य काम सम्पन्न भई इलेक्ट्रिक र मेकानिकल काम सम्पन्न नहुँदा बत्ती बल्न ढिलाइ हुने भएको हो । सीडीई ज्ञवालीका अनुसार ठेकेदार कम्पनीले ३ महिनाको समय थप्ने जनाएको छ ।
जलविद्युत् निर्माणको काम नेपालको तुँदी र भारतको फिउ कम्पनी जेभीले गर्दैछन् । क्यापिटल नेपालसँग कुरा गर्दै सीडीई ज्ञवाली भन्छन्, ‘अन्य काम त लगभग सकिएको छ । तर, इलेक्ट्रिकल र मेकानिकल काम बाँकी रहेकाले बिजुली बल्न ढिलो हुने भएको हो ।’
३ महिना म्याद थपेपछि पनि बिजुली बल्ने समय निश्चित नहुने उनको भनाइ छ । आयोजनाले दसैंअघि नै बत्ती बाल्ने योजना बनाएको छ । तर, आवश्यक संरचना तयार नभएकाले दसैंअघि बत्ती बल्ने विषयमा ढुक्क हुन नसकिने ज्ञवाली बताउँछन् । ‘मेकानिकल र प्राविधिक कामहरु बाँकी छ, दसैंसम्म बत्ती बल्नेमा आशावादी हुन सकिन्छ, ढुक्क हुन सकिँदैन’, उनले भने ।
रानीजमरासँग मेकानिकल पार्ट हेर्न जनशक्ति नहुँदा परामर्शतादाको सहयोग लिनुपर्ने बाध्यता छ । जसकारण निर्माणकार्य ढिलो हुन्छ ।
आयोजनाको नयाँ गुरु योजना बन्ने
रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम २ चरणमा गर्ने तयारी छ । जसअनुसार पहिलो चरणमा हाल काम भइरहेको छ भने दोस्रो चरणको निर्माणका लागि गुरु योजनाको तयारी भइरहेको आयोजना प्रमुख आयोजना प्रमुख केदारकुमार श्रेष्ठ बताउँछन् ।
पहिलो चरणअन्तर्गत २० हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनाले जनाएको छ । आयोजना प्रमुख श्रेष्ठका अनुसार हालसम्म पहिलो चरणअन्तर्गत ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।
रानीजमराको पहिलो चरणको काम गर्न २७ अर्ब ७५ करोड रुपैयाँ बजेटमध्ये हालसम्म १७ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै आर्थिक वर्ष २०८०÷०८१ सम्म यसको म्याद छ । पश्चिम नेपालको कैलालीमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आर्थिक वर्ष ०६७÷०६८ देखि आयोजना निर्माण सुरु भएको हो । दोस्रो चरणमा १८ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने गरी काम हुनेछ । जसको हालसम्म गुरु योजनासमेत तयारी भएको छैन ।
आर्थिक वर्ष २०७९÷०८० मा भने रानीजमराको दोस्रो चरणको गुरु योजना पेस गर्ने तयारी आयोजनाको छ । ‘दोस्रो चरणको निर्माणार्थ नयाँ गुरु योजना बनाउनुपर्छ, त्यसको तयारी गर्दैछौं । आगामी आर्थिक वर्षमा पेस हुन्छ,’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘तर, काम कहिले हुन्छ भन्न सकिँदैन । पहिलो चरणको सकिएपछि मात्रै दोस्रो गर्नुपर्छ भन्ने होइन । मिल्यो भने गुरु योजना स्वीकृत भएपछि दुवै चरणको काम सँगसँगै हुन पनि सक्छ ।’
आयोजनाको दोस्रो चरणबाट १८ हजार हेक्टर पश्चिम नेपालको जमिनमा सिँचाइ सुविधा पुग्नेछ । जसका लागि १५ अर्ब रुपैयाँ लाग्ने अनुमान आयोजनाले गरेको छ । यस्तै काम सुरु भएपछि करिब ८ वर्षमा निर्माण सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठ बताउँछन् ।
रानीजमरामा नेपाल र विश्व बैंकको लगानी रहेको छ ।
आयोजना निर्माणमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत २ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएको छ । उक्त बजेटमध्ये ८० प्रतिशत रकम विश्व बैंकको हो ।