काठमाडौं । नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुसँग सोमबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्कति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेश स्थित नेपाली दूतावास र राजदूतहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर काम गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले राजदूतावासहरु नै विदेशमा देशको प्रतिनिधत्व गर्ने आधिकारिक निकाय भएकोले नेपालको बारेमा सकारात्मक सन्देश प्रभाव गर्न आवश्यक रहेको र देशको प्रर्वद्धनका लागि सबैले आआफ्नो ठाउँबाट रचनात्मकढंगले कार्य गर्नुपर्ने पनि बताए ।
मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तरराष्ट्रियस्तरमा देशको छवि निर्माणमा राजदूतहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै दूतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र बोर्ड सधैं तयार रहेको बताए ।
मन्त्रालयका सहसचिव बुहिसागर भट्टराईले नेपाल हवाई सुरक्षाका हिसाबले सुरक्षित मुलुक रहेकाले सोहीअनुरुप नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम चिर्न आवश्यक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा जापानमा लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका सुशील लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे,अष्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल ,साउथ अफ्रिकाका लागि दानबहादुर तामाङलगायतका नवनियुक्त राजदूतहरुले नेपालको प्रर्वद्धनका लागि देश अनुसार फरकफरक प्रर्वधनात्मक सामग्री तयार गर्नुपर्ने, विदेशमा गरिने कार्यक्रममा लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दूतावाससँग समन्वय गर्नुपर्नेमा जोड दिए ।
यस्तै बोर्डका उपाध्यक्ष चन्द रिजालले बोर्डका पनि आफ्नै सीमितताहरु हुने गरेको अवस्थामा राजदूतावासहरुले पनि सोहीअनुरुपको समन्वय र सहकार्य गर्नुपर्ने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्य रेग्मीले नेपाल पर्यटन बोर्डले कोभिड १९ पछि गरिरहेका कार्यक्रम तथा बोर्डको भावी योजनाबारे प्रकाश पार्दै बोर्डले नेपालको प्रर्वद्धनमा दुतावासहरूसंग सहयोगको अपेक्षा गरेको बताउए ।
नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक प्रदीप पौडेलले नेपाल हवाई उड्डयनमा आइकाओको मापदण्ड अनुरुप सुरक्षित गन्तव्य रहेकाले राजदूतहरुले नेपालको हवाई सुरक्षाका विषयमा गरिने हुने भ्रम चिर्दै नेपाल जान अभिप्रेरित गर्नु पर्ने बताए ।