काठमाडौं । मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक शिलान्यास भएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक सोमबार शिलान्यास गरेका हुन् ।
सुन्दरीजलमा भट्टराईको शालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडांैवासीलाई मेलम्चीको पानी पिलाउने सपना सरकारले पूरा गर्ने बताएका छन् ।
दुईपटकसम्म प्रधानमन्त्री बनेका भट्टराई प्रधानमन्त्री निवासबाट आफ्नो सम्पत्तिका रुपमा टिनको बाकस, सुराही र छाता मात्र लिएर निस्किएको भन्दै उनीजस्ता त्यागी राजनेता पाउन कठिन भएको मन्त्री चौधरीको भनाइ छ ।
काठमाडौंको प्रत्येक घरलाई मेलम्चीको पानी खुवाउने किसुनजीको सपना पूरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै भट्टराईको शालिकको उद्घाटन वर्तमान सरकारकै पालामा हुने बताएका छन् ।
एसियाली विकास बैंक (एडीबी) को प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट आएबमोजिम सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानीको हेडवक्र्स क्षेत्रको मर्मत सम्भार गरी स्थायी रुपमा मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिनेसमेत बताएका छन् ।
त्यस्तै मेलम्चीको विकल्पमा बागमतीबाटै थप पाँच करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको र सिस्नेरीबाट करिब १५ करोड लिटर पानी काठमाडौं ल्याइने बताइएको छ ।
प्रतिनिधिसभाबाट खानेपानी तथा सरसफाईसम्बन्धी विधेयक पारित भइसकेको जनाउँदै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा पुर्याएको खण्डमा पूर्वप्रधानमन्त्री स्वर्गीय भट्टराईको सपना पूरा हुने बताए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले किसुनजीको योगदान र पहिचान झल्किने गरी पूर्णकदको शालिक निर्माण गर्न सुझाव दिँदै नगरपालिकाले किसुनजीको शालिक र पार्क क्षेत्रको संचालन र संरक्षण गर्ने बताए ।