काठमाडौ । चालू आर्थिक वर्ष सकिँदै लाग्दा सेयर बजार भने फेरि ओरालो यात्रामा देखिएको छ । गत भदौ २ गते ३२२६ सम्म पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक असार १० गते १० महिनाकै न्यून बिन्दु १८०६ सम्म झरेको थियो । तर, त्यसपछि विस्तारै उक्लन खोजेको नेप्से सूचक असार २० गते २१४८ बिन्दुलाई छोएर २०७६ मा रोकिएको थियो ।
त्यसपछि १ दिन सामान्य बढेको बजार फेरि निरन्तर घटिरहेको छ । सोमबार १९१५.६१ मा रोकिएको छ । शुक्रबार १९९२ मा रोकिएको बजार सोमबार एक अंक बढेको देखिए पनि निरन्तर बजार घट्दोक्रममै छ । तर, १९१२ सम्म झरेको सूचक अन्तिम समयमा ३ अंकको फरक घटाउँदै कारोबार रोकिएको छ ।
सोमबारको घटेको सेयर बजारलाई १८८ कम्पनीले साथ दिए । र, सबैभन्दा बढी ग्रामीण विकास लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट लागेर कारोबार रोकियो भने अन्य ३ कम्पनीको ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य घटेको छ । यसदिन सोल्टी होटलको मात्रै शून्य दशमलव ५१ प्रतिशतले मूल्य बढेको छ । सोमबार २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
खासगरी, आर्थिक वर्ष सकिनै लाग्दा उद्योगी/व्यवसायीलाई कर तिर्नका लागि पैसा जुटाउनुपर्ने दबाब, सेयर धितो कर्जाको सीमा कार्यान्वयनको अन्तिम प्रहरको दबाब, बैंक तथा वित्तीय संस्थाले सेयर धितो मूल्यांकनमा आफूअनुकूल गरेको ब्याख्या र मूल्यांकनमा कडाई, आर्थिक संकट बढ्दै गएको सरकारी तथा निजी क्षेत्रको प्रक्षेपण, आगामी वर्षको मौद्रिक नीति थप संकुचित गर्ने आशंकाका बीच ब्याजदर थप बढ्नसक्ने जोखिम, तरलता अभाव नसल्टिने अवस्था, पुँजी अपर्याप्तताका कारण थप लगानी गर्न नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था देखिनु, बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको हिस्सा बढ्ने सम्भावनाजस्ता कारणले लाभांश मुखैमा आउन लागेका बेला पनि सेयर बजार ओरालो लागिरहेको छ ।
साउन लाग्दा सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुने र त्यसले कम्पनीको यथास्थिति देखाउने, साउन पहिलो हप्ताभित्र मौद्रिक नीति आउने र त्यसले आगामी कार्यदिशा देखाउने भएकाले चालू आर्थिक वर्षका अन्तिम ४ दिन अझै सकसपूर्ण देखिन्छ । यद्यपि, न्यूनबिन्दु पच्छ्याउँदै बजारलाई दोस्रो पटक मौद्रिक नीति अघि नै फर्काउने प्रयास भने हुने देखिन्छ ।