काठमाडौं । सुनचाँदी व्यवसायीहरूबीच यस क्षेत्रमा हुनै सबै खालका कारोबार र व्यावसायिक गतिविधिहरूमा एक रूपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा सोमबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच यस्तो सहमति भएको हो ।
दुई महासंघबीच भएको सहमतिका क्रममा दुवै महासंघको काठमाडौं उपत्यकाका विभिन्न जिल्लाका प्रतिनिधिहरूको समेत सहभागिता थियो । यो निर्णय सँगै सुनको आपूर्ति तथा बिक्रीवितरण, मूल्य निर्धारण प्रक्रिया, बिक्रीपछिको खरिद प्रक्रिया, ज्याला, जर्ति तथा टोलरेन्स लगायतका विषयमा व्यवसायीबीच एकरुपता आउने विश्वास गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्ने क्रममा यो निर्णय भएको बताए । यो निर्णयले आम उपभोक्तालाई समेत फाइदा पुग्ने उनको भनाइ छ । यो निर्णयसँगै मूल्य र गुणस्तरमा एकरूपता कायम हुने हुनाले आम उपभोक्ताले निर्धक्कसँग कारोबार गर्न सक्ने उनको भनाइ छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेसमान श्रेष्ठले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्नेक्रममा यो निर्णय भएको र यसले व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई पनि फाइदा पुग्ने बताए । यसअघि यदाकदा यी विषयमा व्यवसायीबीच फरक–फरक व्यवस्था हुने परिपार्टि थियो । कार्यक्रममा व्यवसायीका विभिन्न समस्याको अध्ययनगर्न एक समितिसमेत गठन गर्ने निर्णय भएको छ ।
कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, भक्तपुर सुनाँदी व्यवसायी संघ, काभ्रे सुनचाँदी व्यवसायी संघ, रत्न तथा आभूषण व्यवसायी संघलगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।