श्रीलंका यति बेला चरम आर्थिक संकटमा फसिरहेको छ । दिनप्रतिदिन त्यहाँको अवस्था झन्झन् बिग्रँदो छ । हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका मात्रै छैनन, राष्ट्रपति भवनभित्रै घुसेर हुलदंगा मच्चाइरहेका छन् । कोही स्विमिङ पुलमा पौडिरहेका छन् भने कोही किचन, बेडरुमा मजा लिइरहेका छन् । परिणामः राष्ट्रपति गोटाबाया राजपाक्षे भवन छाडेर भागिसकेका छन् ।
श्रीलंकाको आजको जुन अवस्था छ, त्यसको सुरुवात करिब तीन महिना अघिदेखि भएको थियो । कसरी यस्तो अवस्थामा पुग्यो त श्रीलंका ?
१ अप्रिल २०२२ः राजपाक्षेले अस्थायी आपतकालीन घोषणा गरे र प्रदर्शनकारीलाई पक्राउ गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए ।
३ अप्रिलः श्रीलंका सरकारको पूर्ण क्याबिनेटले मध्यरातमा भएको एक बैठकमा राजीनामा दियो । राजपाक्षे र त्यसपछि महिन्द्रा राजपाक्षे अलगअलग भए ।
केन्द्रीय बैंकका गभर्नर इन्टरनेसनल मनिटरी फन्डबाट बेलआउट प्याकेज मागिरहेका थिए । तर, त्यसको अर्को दिन उनले राजीनामा दिए ।
५ अप्रिलः गोटबाया राजपाक्षेको समस्या झनै बढ्यो । अर्थमन्त्री बनेको एक दिनपछि अली साबरीले राजीनामा दिए ।
१० अप्रिलः त्यहाँका डाक्टरहरुले अस्पतालमा औषधि सकिएको बताए । साथै सरकारलाई यो पनि चेतावनी दिए कि यदि सरकारले कुनै गम्भीर कदम उठाएन भने मर्नेहरुको संख्या कोराना महामारीले भन्दा बढी हुनेछ ।
१२ अप्रिलः सरकारले ५१ अर्ब डलरको कर्जा डिफल्ट गरिरहेको बतायो । कारण, विदेशी मुद्रा सञ्चिति निकै कम छ ।
१९ अप्रिलः केही हप्तादेखि चलिरहेको सरकारविरोधी प्रदर्शनमा पहिलोपटक सुरक्षाकर्मीको जवाफी प्रतिक्रियामा एक प्रदर्शनकारीको मृत्यु भयो ।
१० मेः रक्षामन्त्रीले सुरक्षाकर्मीलाई लुटपाट गरेको वा कसैलाई मार्ने कोसिस गरेको देखे गोली चलाउन आदेश दिए ।
१० जुनः युनाइटेड नेसन्सले श्रीलंक नराम्रो अवस्थामा फस्न सक्ने चेतावनी दियो । त्यसपछि तीन चौथाइ जनसंख्याले खाना कम खान थाले । किनकि, खाद्यवस्तुको हाहाकार थियो ।
२७ जुनः सरकारले श्रीलंकामा इन्धन लगभग सकिएको घोषणा गर्यो । अत्यावश्यक सेवाबाहेक अरु सबैका लागि पेट्रोलियम पदार्थको बिक्री बन्द गरिदियो ।
१ जुलाईः नौ महिनामा महँगीले नयाँ रेकर्ड बनाएको तथ्यांक जारी गर्यो सरकारले । जुन महिनामा महँगी ५४.६ प्रतिशत रहने अनुमान लगाइएको छ । साथै आगामी दिनमा यो बढेर ७० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।
९ जुलाईः प्रदशर्नकारीले राष्ट्रपति निवासमा हमला गर्न थालेपछि राष्ट्रपति राजपाक्षे भागे ।
श्रीलंकालाई भारतलगायत केही देशहरुले सहयोग गरिरहेका छन् । यति हुँदा पनि देशको अवस्था सुध्रिने छाँटकाँट देखिएको छैन ।