जमुना वर्षा शर्मा
चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकारले ग्रामिण पर्यटन प्रवद्र्धन गर्न घरबास कार्यक्रमलाई महत्व दिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुर्याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै ३० करोड रुपैयाँ बजेट समेत छुट्याएको छ ।
गाउँगाउँमा होमस्टे सञ्चालन गर्ने भन्दै प्रदेश सरकारले गत आर्थिक वर्षमा ३०० होमस्टेलाई १० लाख रुपैयाँका दरले रकम दिने निर्णय मन्त्रालयले गरेको थियो ।
होमस्टेबाट दिइने खानाका विषयमा बेला बेला अर्गानिक नभएको बजारीया खानेकुरानै दिने गरेको, आतिथ्यता नभएको भन्ने गुनासोहरु पनि सुनिदै आएको पाइन्छ । यी विविध कुरालाई मध्यनजर गरेर लायन्सक्लब अफ पोखरा हेरिटेजले होमस्टे तालिम प्रदान गरेको छ ।
होमस्टे आएका पाहुनालाई आतिथ्य सत्कार गर्न र स्वादिष्ट परिकार तयार गर्नका लागि लायन्स क्लब अफ हेरिटेजले निशुल्क तालिम प्रदान गरेको हो । कास्कीको पुम्दीभुम्दीमा रहेको कालावाङ घरेडी होमस्टेका २५ जना सदस्यलाई क्लबले निशुल्क होमस्टे तालिम प्रदान गरेको क्लब हेरिटेजका अध्यक्ष विजय पौडेलले बताए ।
“हामीसँग सीप छ त्यो हामी बाँडेर अरुलाई पनि आत्मनिर्भर बनाउन चाहान्छौ । यो अभ्यास हामीले लायन्स क्लब हेरिटेजबाट शुरुआत गरेका हौ । ” पौडेलले भने । “आर्थिक रुपमा विपन्न युवालाई समेत तालिम दिएर रोजगारको वातावरण सृजना गरेका छौ ।” यस अघि कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजको प्राविधिक सहयोगमा आर्थिक रुपमा विपन्न ४० महिलालाई १८ दिनको कुकिङ तालिम दिएको र केहिलाई क्लबको पहलमा रोजगार समेत दिलाएको उनले बताए ।
पर्यटकीय शहर पोखराका होटलमा अझै पनि दक्ष शक्तिको अभावम रहेकाले क्लबले कुकिङ र होटल म्यानेजमेन्ट सम्बन्धि निशुल्क तालिमलाई जोड दिएको उनको भनाइ छ ।
युवाहरुलाई स्वदेशमै रोजगार प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा लायन्स क्लबले विभिन्न खालका सीपमुलक तालिमहरु दिदै आएको क्लबका प्रथम उपाध्यक्ष ओम उपाध्यायले बताए । “गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको छ त्यसैगरी नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको छ । यसका लागि पर्यटकलाई राम्रो आतिथ्यता र स्वादिष्ट खानामा विशेष ख्याल पुर्याउनु पर्छ ।” पर्यटकको रोजाइ अहिले गाउँको प्राकृतिक वातावरण पनि पर्दै गइरहेको छ । स्थानीय स्रोत साधान र उत्पादनलाई कसरी आर्कषक रुपमा प्रस्तुत गरेर स्थानीय स्वादलाई पस्कने भन्ने विषयमा तालिम प्रदान गरिएको उपाध्यायले जानकारी दिए ।
“हामीले सरकारको आलोचना गरेर भन्दा आफुलहरुले आफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यसलाई गर्नुपर्छ भन्ने मान्यताबाट यस तालिममको अभियानमा जुटेका हौ ।” उपाध्यायले भने । “अब बागलुङको भकुण्डे होमस्टे र अन्य स्थानमा पनि निशुल्क तालिम लिएर जाने तयारीमा छौ ।” तालिममा सहभागि सबैलाई असोज ८ गते होटल ग्राण्डमा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिए ।
तालिमले हामेस्टेका सदस्य प्रत्यक्ष लाभान्वित भएको कालावाङ सामुदायिक होमस्टे अध्यक्ष एवं बजार व्यवस्थापक रविन्द्र गुरुङले बताए । गाउँका होमस्टेमा आतिथ्यसत्कार देखि स्थानीय कृषि उत्पादन, अर्गानिक खानालार्ई आर्कषक साजसज्जा सहित पाहुना सम्म पुर्याउने तरीकाको बारेमा २ दिने तालिम निकै प्रभावकारी रहेको गुरुङले बताए । रासस