विश्वका सर्वाधिक धनी एलन मस्कले माइक्रोब्लगिङ साइट ट्विटरसँग गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने घोषणा गरेका छन् ।
तर, ट्विटरले मस्कलाई यति सजिलै छोड्नेवाला भने छैन । कम्पनीले उनलाई अदालतको कठघरामा उभ्याउने तयारी गरिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्विटरले यसका लागि न्युयोर्कको टप लिगल फर्म वाचटेल, लिपटन, रोसेन र कर्क एलएलपीलाई हायर गरेको छ । आगामी हप्ता मस्कविरुद्ध डेलावरमा मुद्दा दायर गर्नेछ ।
यसका साथसाथै मस्क पनि कानुनी लडाइँमा उत्रिने तयारी गरिरहेका छन् । उनले ल–फर्म क्विन इमानुएल अर्कुहाट एन्ड सुलिभानलाई हायर गरेका छन् ।
मस्कको टिमले ट्विटरलाई पत्र लेख्दै ४४ अर्बको डिल रद्द गर्नेबारे पत्र पठाएको थियो । टिमको दाबी थियो, ट्विटरले सम्झौताका सर्तहरु पालना नगरेकाले उक्त डिल रद्द गर्नुपरेको हो ।
कम्पनीका चेयरमेन ब्रेट टेलरले मस्कको सर्तअनुसार बोर्ड ट्रान्जेक्सन पूरा गर्न प्रतिबद्ध रहेको तर त्यसका लागि अदालत जाने बताएका थिए ।
केही समयअघि ट्विटर खरिद गर्न मरिहत्ते गरेका मस्कले ४४ बिलियन डलरको बोली लगाएका थिए । तर, पछिल्लो तीन महिनादेखि मस्क–ट्विटरबीच नाटक चलिरहेको थियो । तर, अहिले कथामा नयाँ ट्विस्ट आएको छ ।
मस्कले सन् २०२२ को जनवरीदेखि ट्विटरको सेयर किन्न सुरु गरेका थिए । १४ मार्चमा उनले कम्पनीको ९.२ प्रतिशत हिस्साको घोषणा गरेका थिए । त्यसपछि अप्रिलमा भारतीय मूलका सीईओ पराग अग्रवालले मस्क ट्विटर बोर्डमा सहभागी हुने कुरा बताएका थिए । तर, १० अप्रिलमा उनै अग्रवालले मस्क बोर्डमा सहभागी नहुने बताए । पछि १४ अप्रिलमै मस्कले पूरै कम्पनीको प्रतिसेयर ५४.२० डलरमा किन्ने बताए । जुन सम्झौता ४४ अर्ब डलरको थियो ।
के थियो मस्कको योजना ?
२१ अप्रिलमा मस्कले ट्विटर खरिद गर्ने योजना अघि सारे । यसका लागि उनले आफ्नो फन्डबाट २१ अर्ब डलर भुक्तानी गर्ने बताए । २५ तारिखमा ट्विटर बोर्डले यो प्रस्ताव स्वीकार गर्यो । तर, यसबीचमा मस्कलाई लाग्यो, किन्ने हतारमा बढी बोली लगाएँ । त्यसपछि त के ! विभिन्न प्रकारका बहाना बनाउन थाले ।
आज ट्विटरको सेयर मूल्य ३६.८१ डलर छ । अर्थात् मस्कले लगाएको मूल्यभन्दा एक तिहाइ कम भइसकेको छ ।
सिलसिलमा यतिमा मात्रै रोकिँदैन । कतिसम्म भने मस्कले २० प्रतिशत ट्विटर खाता फेक बताए । तर, उनले कम्पनी किन्न लगाएको बोली ट्विटर प्रयोगकर्ताका आधारमा थियो ।
बदलिएको मन
जानकारहरुक अनुसार मस्कको मन बिग्रनुमा दुई मुख्य कारण छन् । पहिलो कारण, टेक सेयरमा अहिले निकै गिरावट आइरहेको छ, जसमा ट्विटर पनि एक हो । यस्तै अर्को कारण, उनको आफ्नै कम्पनी टेस्लाको सेयर पनि ओरालो लागेकै छ ।
ओरालो लागेको सेयर बजारले मस्कलाई निकै घाटा भइरहेको छ । यही तथ्यलाई समातेर उनले सम्झौता रद्द गर्ने बताए । किनकि, चलाख मस्कलाई पैसा कहाँ कसरी आउँछ भन्ने राम्ररी थाहा छ ।
-एजेन्सीकाे सहयाेगमा ।