काठमााडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनापछि नेपालमा पनि आर्थिक संकटका संकेत देखा परिरहेकाले यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘कोरोना प्रभावले विश्वमा देखिएको आर्थिक मन्दी तथा संकटको बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन । त्यो समस्या हामी पनि झेलिरहेका छौं ।’
नेपाललाई यस्तो संकटमा पर्न नदिन, आर्थिक अवस्थालाई बचाइराख्न संसारभरका नेपालीहरुले नेपालमा पुँजी र प्रविधि भित्र्याउन तथा वैदेशिक लगानी गर्न आग्रह गरे ।
उनले भने, ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोुस् र नेपालमा बढीभन्दाबढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।’
सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परेको, महँगी बढेको र त्यसको मारमा नेपाली पनि परेको ढकालको भनाइ थियो ।
लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको भन्दै लगानीका कैयौं सम्भावना रहेको र नेपालमा धेरैभन्दा धेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेस गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरुले गैरआवासीय नेपालीहरुसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेस गरे ।