काठमाडौं । बैंकहरूले मूल्यको ५० प्रतिशत मात्रै सेयर कर्जा उपलब्ध गराउन थालेका छन् । केन्द्रीय बैंकले नीतिविपरीत बैंक तथा वित्तीय संस्थाले औसत मूल्यको ५० प्रतिशत मात्रै ऋण उपलब्ध गराउन लागेका हुन् ।
७० प्रतिशतलाई आधार मानेर ऋण लिएका ऋणीहरुलाई अहिले बैकले फोन गरेर मार्जिन थप्न भनेपछि यस्तो खुलेको हो ।
असार मसान्त नजिकिँदै छ । चालू आवमा ५ दिन मात्रै कारोबार हुन्छ । तर, यही बेला बैंकहरुले आफूखुसी निर्णय गर्दै ७० प्रतिशतको व्यवस्थालाई ५० मा झारेर सेयर लगानीकर्तालाई थप पीडा दिएका छन् ।
बैंकका म्यानेजरहरुले ऋणीलाई फोन गर्दै सीईओसापले ५० प्रतिशतमा झार्न भनेकाले सोहीअनुरुप आफूले काम गरेकाे भन्दै थप मार्जिन उपलब्ध गराउन भनेका छन् । तर, राष्ट्र बैंकले नीतिगत रुपमा अहिलेसम्म केही भनेको छैन । यद्यपि केन्द्रीय बैंकको निर्देशनबिनै बैंकहरुले ७० प्रतिशतको सीमालाई ५० मा झारेका हुन् ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गर्न ४/१२ को नीति लिएको थियो । धेरैजसो बैंकले उक्त नीतिलाई पूर्णरुपमा पालना गरे । त्यसबाहेक केन्द्रीय बैंकले सेयर बजारलाई कडाइ गर्ने कुनै नीति नलिएको अवस्थामा बैंकहरु आफैंले ७० को सीमालाई ५० मा झारेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले आ–आफ्ना जिम्मेवारीप्राप्त अधिकृतहरुलाई सेयर ऋणमा विशेष चनाखो बन्न निर्देशन दिएको र मिल्ने ठाउँसम्म औसत मूल्यको ५० प्रतिशत वा न्यूनतम मूल्यमध्ये जुन कम छ, त्यसलाई मान्न भनेका छन् ।
बैंकले च्यापेपछि ऋणीहरुले नमान्दा सीईओकोमा जानुस् भन्ने तर सामान्य लगानीकर्ताको पहुँच सीईओसँग नहुने लगानीकर्ताहरु बताउँछन् । बैंकको उक्त कार्यले साना लगानीकर्ता बढी मर्कामा परेका छन् । सेयरको औसत मूल्यको ५० प्रतिशत ऋणको व्यवस्था गरेका छन् भने सेयर कर्जामा थप प्रिमियम पनि बढाइरहेका छन् । यसले सेयर बजार अझ प्रभावित हुने देखिन्छ ।