काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अवस्थालाई हेरेर मौद्रिक नीति आउने बताएका छन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।
समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।
‘समय र अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउने हो, मेरो इच्छाअनुसार आउने होइन,’ उनले भने, ‘अर्थतन्त्रका सूचक ठीक ठाउँमा छैनन् । सुविधाजनक संकेत छैन । चालू खाता तथा भुक्तानी सन्तुलन ऋणात्मक भइरहेको छ । यस्तोमा धेरै सचेत हुनुपर्छ । यी समस्या सुधारका लागि राज्य र व्यवसायीले केही सहनुपर्छ । सहने कुराका लागि हामी तयार हुनुपर्छ ।’
‘अहिले समग्र विश्व अर्थतन्त्र कसरी अगाडि बढिरहेको छ त्यो पनि हेर्नुपर्छ,’ उनले भने ।
‘रूस–युक्रेन युद्धकोे प्रभावले नेपाल चुनौतीपूर्ण अवस्थामा छ । यो चुनौती बाह्य क्षेत्रबाट आएको हो । यसलाई चिर्ने काम भइरहेको छ,’ उनको भनाइ थियो ।
एफएनसीसीआईले मौद्रिक नीतिबारे सुझाव दिन डाकेको कार्यक्रममा गभर्नर अधिकारीले कोभिडमा दिएको सुविधामध्ये अझै पनि केही निरन्तर रहेको बताए । सूचकहरू अझै पनि चुनौतीपूर्ण रहेको भन्दै समस्या बढी उपभोगबाट भएको धारणा राखे ।
‘उपभोगले चालू खाता घाटा बढेकाले त्यहाँ केही काम गर्नुपर्ने छ,’ उनले भने, ‘यसरी काम गर्दा सबै सरोकारवालाले सहनुपर्ने भएकाले त्यसका लागि तयार बन्नुपर्छ ।’
साथै, भारू ५०० र हजारको नोटको समस्या हटाउन पहल भइरहेको पनि उनको भनाइ थियो । नेपाल एसबीआई बैंकमार्फत सबै पिओएसमा रूपे कार्ड चलाउने ब्यवस्था मिलाउन लागिएको समेत अधिकारीले जानकारी दिए ।
उधारो कहाँ गएको छ ? प्रश्न गर्दै अस्वाभाविक उधारो दिँदा अर्थतन्त्रलाई नै समस्या पर्ने गभर्नर अधिकारीको भनाइ थियो ।